अष्ट्रेलियामा रहेर नेपाल र नेपालीका लागी दुइ दशक भन्दा आफनो अमुल्य समय खर्चनुभएको एउटा सोझो र असल ब्यक्तित्व नन्द गुरुङलाइ हामी अवको अध्यक्षको उमेदवारको रुपमा पाएका छौं । लमजुगंको गॉंउ हुदै अष्ट्रेलियाको स्थापित संस्थाहरुमा रहि आफनो कार्य कुशलता प्रदान गर्दै हर समय नेपाल र नेपालीका हितमा खर्चने ब्यक्ति पाउन अष्ट्रेलियामा रहेका नेपालीहरुका लागी गर्वको बिषय हो ।

अवको २०२१-२३ का लागी अध्यक्ष पदका लागी भोट अपिल गर्दै उहॉंले राख्नु भएका शब्द आफनै भाषामा ।

आदारणीय साथिहरु सवैमा नमस्कार,
असंख्य शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको मेरो उत्कट चाहनालाई परिपूर्ति गर्ने उद्धेश्यले एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु । सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै गर्दा म आज जति उत्साहित छु त्यति नै भावुक र जिम्मेवारबोधको महसुस गर्दैछु । म दुइदशकभन्दा लामो समयदेखि कर्मभूमिको यो आँगनमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर आफ्नो अभिभारा निस्वार्थतवरले पुरा गर्दै आएको तपाईहरुलाई अवगत नै छ । मैले जीवनका महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि अष्ट्रेलियामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको तपाईहरु सामु छिपेको छैन ।
हो मेरो एउटा राजनीतिक आस्था होला, तर सामाजिक कार्यको हकमा मैले आफुलाई विशुद्ध सामाजिक कार्यकर्ताकै भूमिकावाट कहिल्यै बाहिर लगिन र लैजानेपनि छैन । पछिल्ला एकदशकमा अष्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो संगसंगै धेरै समस्याहरु पनि हामीले प्रत्यक्ष र परोक्षरुपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ । एनआरएनएको विभिन्न पदमा बस्दा मैले आफ्नो समय, बुद्धि र विवेकले भ्याएसम्म हरेक क्षेत्रमा सकृय स्वयंसेवीको भूमिका निर्वाह गरेको छु । विगत एकदशक भन्दा लामो एनआरएनए यात्रामा धेरै तितामिठा अनुभव संगालेको छु, नेपाली कला, भाषा र संस्कृति, खेलकुद अनि सामाजिक सद्भावका यात्रामा धेरैपटक तपाईहरुसंग नाचेको छु, हासेको छु र रमाईलो गरेको छु । अनि सातसमुन्द्र पारी सुन्दर भविश्यको खोजीमा आएका नेपालीको पिडामा धेरैपटक भक्कानिएर रोएको छु । म कर्म र इमान्दारीतामा विश्वास गर्छु, र एनआरएनएलाई यहाँ रहेका सवै नेपालीको साझा र सवल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । आज मैले उम्मेदवारी घोषणा गर्दैगर्दा एजेण्डाका पोकोहरु वोकेर आएको छैन, एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाई र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छौ । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तक तपाईहरुको आवाजलाई अनि यहाँ भएका समस्याहरुलाई सम्वोधन गर्ने एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु ।
म तपाईहरुको माया, विश्वास र भरोसाले हौसिएको छु, तपाईहरुकै उत्प्रेरणाले एनआरएनको मेम्वर हुदै सुरु भएको यात्रा अष्ट्रेलिया अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्षम छु भन्ने निश्चिन्तताका साथ तपाई माझ आएको छु । म यसो गर्छु, उसो गर्छु भन्नुभन्दापनि तपाईहरुले हाम्रो नेपाली समाजका लागि जे गर भन्नुहुन्छ, जे अह्राहुनुहुन्छ त्यही इमान्दारीतापूर्वक गर्छु । र,म टिमवर्कमा विश्वास राख्ने सामाजिक कार्यकर्ता भएका कारण मेरो नेतृत्वमा रहेको टिमसंगको सरसल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाउदछु ।
त्यसैले आसन्न निर्वाचनमा एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु । साथै,यहाँहरु सवैको अमूल्य मतको अपेक्षा राख्दै एन आर एन अष्ट्रेलियाको सदस्यता लिन हुन पनि बिनम्र अनुरोध गर्दछु।
जय एनआरएनए
https://nrn.org.au/statemembership/apply

नन्द गुरुङ
President Candidate: NRNA Australia

Total Page Visits: - Today Page Visits:
Shares