IMG_6279-1024x410 सिड्नीमा नेपाल फेस्टिभलको तयारी तीब्र । यसपटक के हुदैछ बिशेष ?

सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्दै नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल सिड्नी २०२६ आगामी नोभेम्बर ७ मा आयोजना हुने भएको छ। सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुने महोत्सवमा चर्चित नेपाली गायक तथा कलाकार प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले नेपालको कला, संस्कृति, परम्परा, प्राकृतिक सौन्दर्य र पर्यटनलाई अस्ट्रेलियाली समाजमाझ चिनाउने लक्ष्य लिएको छ। महोत्सवको मुख्य प्रायोजक मार्को होम्स रहेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत एनआरएनए एससीसी एनएसडब्ल्यूले आयोजना गर्ने यस महोत्सवमा अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वका प्रतिनिधि, नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपाली कला, संस्कृति र परम्पराको भव्य उत्सव

नेपाल फेस्टिभलमा नेपाली संगीत, नृत्य, मौलिक भेषभूषा, परम्परागत कला र नेपाली खानाका विविध परिकारमार्फत नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरिनेछ। नेपाली मौलिकता, परम्परा र राष्ट्रिय गौरव झल्काउने यस महोत्सवले प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति र पहिचानसँग जोड्नुका साथै अस्ट्रेलियाली समुदायसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

नेपालको हिमाली सौन्दर्य, ऐतिहासिक सम्पदा, जातीय तथा सांस्कृतिक विविधता र मौलिक परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने महत्त्वपूर्ण अवसरका रूपमा पनि महोत्सवलाई हेरिएको छ। यसले नेपालप्रति विदेशी समुदायको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन गर्न तथा नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने अवसर

सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ। समयसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा विस्तार भएको यो महोत्सव नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ। सन् २०२६ मा सिड्नीमा आयोजना हुन लागेको महोत्सव यसको ११औँ संस्करण हो।

प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै अस्ट्रेलियामा जन्मेहुर्केका बालबालिका तथा युवालाई आफ्नो सांस्कृतिक जरा र राष्ट्रिय पहिचानसँग जोड्नु महोत्सवको प्रमुख उद्देश्य हो। परिवारसहित सहभागी भएर नेपाली गीत-संगीत, नृत्य, भेषभूषा र परम्परालाई प्रत्यक्ष अनुभव गर्ने अवसरले नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको अपनत्व बढाउने अपेक्षा गरिएको छ।

समुदायको एकता र राष्ट्रिय गौरवको प्रतीक : अध्यक्ष कुँवर

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल फेस्टिभल नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरव अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ । विदेशमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै त्यसको महत्त्व नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहॉंको भनाइ छ। महोत्सवले नेपाली समुदायलाई एउटै मञ्चमा जोड्नुका साथै अस्ट्रेलियाली समाजसँगको सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने कुरामा कुवँरको जोड रहेको छ । अध्यक्ष कुँवरले सिड्नीमा आयोजना हुने महोत्सवलाई सफल बनाउन नेपाली समुदायका सबै सदस्यलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।

महिला, युवा र परिवारको सहभागितामा जोड

एनआरएनए एनएसडब्ल्यूकी राज्य संयोजक उषा किरण बरिया पोखरेलले नेपाल फेस्टिभलले नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

अस्ट्रेलियामा जन्मेहुर्केका बालबालिका तथा युवालाई आफ्नो सांस्कृतिक पहिचानसँग परिचित गराउन यस्ता महोत्सव उपयोगी हुने उनको भनाइ छ। परिवारसहित सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा नयाँ पुस्ताले नेपाली संगीत, नृत्य, भेषभूषा र परम्परालाई नजिकबाट बुझ्ने तथा अनुभव गर्ने अवसर पाउने उहॉंको बिश्वास छ ।

पोखरेलले नेपाली समुदायका महिला, युवा, अभिभावक तथा विभिन्न संघसंस्थालाई महोत्सवमा सहभागी भई नेपाली संस्कृति संरक्षण र प्रवर्द्धनमा योगदान दिन आग्रह गर्नुभएको छ ।

सबैको सहकार्यले महोत्सव सफल हुने विश्वास

एनआरएनए एससीसी एनएसडब्ल्यूका सचिव प्रताप पन्थीले नेपाल फेस्टिभललाई सफल बनाउन आयोजक, प्रायोजक, कलाकार, स्वयंसेवक, विभिन्न संघसंस्था र नेपाली समुदायका सदस्यबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल फेस्टिभल सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गर्दै उनले यसको सफलताका लागि सबै पक्षको सहयोग, समन्वय र सक्रिय सहभागिता महत्त्वपूर्ण हुने बिश्वास गरिएको छ ।

आयोजकले सिड्नी, न्यु साउथ वेल्स तथा अस्ट्रेलियाका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्। साथै, अस्ट्रेलियाली नागरिक तथा अन्य समुदायका मानिसलाई पनि नेपाली कला, संस्कृति, परम्परा र खानपानको प्रत्यक्ष अनुभव लिन महोत्सवमा सहभागी हुन आमन्त्रण गरिएको छ।

नेपाली पहिचान, कला, संस्कृति र राष्ट्रिय गौरवको उत्सवका रूपमा आयोजना हुन लागेको नेपाल फेस्टिभल सिड्नी २०२६ ले प्रवासमा नेपालीपनको संरक्षण गर्दै नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अपेक्षा गरिएको छ।

IMG_6279-1024x410 सिड्नीमा नेपाल फेस्टिभलको तयारी तीब्र । यसपटक के हुदैछ बिशेष ?

Total Page Visits: - Today Page Visits:
Shares