![[Tags] IMG_5928-773x1024 मान्छे अर्जाप्ने मान्छे चाहिन्छ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/09/IMG_5928.jpeg?resize=640%2C848&ssl=1)
लेखक : भागवत खनाल
कठोर तर करुणावान
जिद्दी तर लचिलो
जोसिलो तर होसिलो
शालीन तर आँटिलो
अब
सतहमा पाइला राखेर
हिलो धूलोमै भरोसाको रेखा कोर्दै
मरेको मनलाई फेरि जगाउन
आस मारेकामा आस पलाउन
बग्दो घाउमा मलम लगाउन
करुणाको न्यानो नदी बगाउन
मान्छे अर्जाप्ने मान्छे चाहिन्छ
भीरमा दौडेर करिस्मा देखाउने होइन
हवामा उडेर कलाबाजी गर्ने होइन
दिशाहीन भीडलाई छक्क पार्ने होइन
गालीपुराणका वक्तालाई उक्साउने होइन
अब
अहङ्कारको आगोमा पाइन हालेर
मक्किएको दिमागलाई झ्वाइँय्य पार्दै
दम्भको नशालाई डामेर ठीक पार्न
मान्छे अर्जाप्ने मान्छे चाहिन्छ
हृदयमा कपट नहोस्
आँखामा छल र कपट नहोस्
मनमा द्वेष नहोस्
वाणीमा आक्रोश नहोस्
अब
लठैतहरूलाई दूर भगाउन
खिइएको मगजमा खाक्सी लगाउन
माटिएको धारमा धार चढाउन
भित्ते उद्यमीलाई कर्ममा डोर्याउन
मर्यादाको द्वारलाई फेरि ठड्याउन
जनजनको मनको भय भगाउन
दुष्टता र निष्ठुरतालाई सनास्याउँदै
विवेकको आरनमा ठोकठाक पारेर
राष्ट्र उजेल्ने घन चाहिन्छ
मान्छे अर्जाप्ने मान्छे चाहिन्छ