एडिलेड, अस्ट्रेलिया । नेपाली कला, संस्कृति, भाषा, परम्परा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ मा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ मा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। नेपाली समुदायका लागि यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपाली समुदायको सांस्कृतिक पहिचान, सामाजिक योगदान तथा अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा बढ्दो उपस्थितिलाई उजागर गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस वर्षको फेस्टिभललाई विगतका संस्करणभन्दा अझ भव्य र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले प्रिमियर मालिना उसकस पहिलोपटक फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुलाई नेपाली समुदायको बढ्दो पहिचान र प्रभावको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने उनले जानकारी दिनुभएको हो ।
गुरुङका अनुसार दक्षिण अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत फेस्टिभल आयोजनाका लागि ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ। यस वर्षको महोत्सव सञ्चालन तथा व्यवस्थापनमा एक लाख ७० हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी पूरा भइसकेको छ भने १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
फेस्टिभलको मुख्य आकर्षणका रूपमा नेपाली राष्ट्रिय कलाकार रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। अन्य कलाकारहरूको नामावली पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न आयोजकले २० वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।
एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले सबै उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसार तयारी तथा समन्वयका काम अघि बढाइरहेको जानकारी दिए। कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा, मञ्च व्यवस्थापनलगायतका पक्षलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । पराजुलीका अनुसार फेस्टिभल सफल बनाउन आयोजकसँगै विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक तथा समुदायका सदस्यहरूको सहकार्य महत्त्वपूर्ण छ। सबै पक्षको सक्रिय सहभागिताबाट महोत्सवलाई व्यवस्थित र सफल बनाउने लक्ष्य रहेको उहॉंले बताउनुभयो ।
नेपाल फेस्टिभल नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने मात्र नभई अस्ट्रेलियाली तथा अन्य अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको मौलिक पहिचान, कला र संस्कृतिको परिचय गराउने महत्त्वपूर्ण अवसरका रूपमा समेत लिइएको छ। आयोजकले साउथ अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपाली संस्कृतिप्रति चासो राख्ने अस्ट्रेलियाली र अन्य समुदायलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ।
![[Tags] IMG_6279-1024x410 एडिलेडमा नेपाल फेस्टिभल हुदै । पहिलोपटक प्रिमियर प्रमुख अतिथि हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/11/be96cb3a-56ab-49cf-bdb2-14301f1cc77d.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] IMG_6279-1024x410 एडिलेडमा नेपाल फेस्टिभल हुदै । पहिलोपटक प्रिमियर प्रमुख अतिथि हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/11/IMG_6279.png?resize=640%2C256&ssl=1)