काठमाडौं । अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय बढेको देखिएको छ । विदेश पढ्न जानका लागि शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा लिनुपर्ने नो अब्जेक्सन लेटरको तथ्यांकले यस्तो देखाएको हो ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या वार्र्षिक ७० हजार नाघेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा ३२ हजार ४ सय ८९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए भने ०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ पुगेको थियो ।
शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार ०७४ वैशाखदेखि ०७५ असार १९ गतेसम्ममा विदेश पढ्न जानका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या ७१ हजार ७ सय ४३ पुगेको छ । उक्त संख्या आव ०७२–०७३ को तथ्यांकभन्दा दोब्बर हो । मन्त्रालयका अनुसार उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर लिनेको यो संख्या हालसम्मकै उच्च हो ।
![[Tags] 5F340C4B-DD70-43B9-B99D-CD3216E37BCC-300x172 नेपालबाट बिदेश जाने विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/5F340C4B-DD70-43B9-B99D-CD3216E37BCC.jpeg?resize=300%2C172&ssl=1)
अन्य विषयका लागि भने अष्ट्रेलिया जाने बढी छन् । विदेश जाने कुल विद्यार्थीमध्ये करिब आधा अष्ट्रेलिया जाने गरेको छात्रवृत्ति शाखाले जनाएको छ । दोस्रोमा जापान, त्यसपछि अमेरिका र चीन छन् । नेपालबाट ७२ वटा देशमा उच्च शिक्षाका लागि विद्यार्थीहरु गएको देखिएको छ ।
किन बढ्दो छ संख्या ?
शिक्षाविद् धनञ्जय अधिकारी विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्नुमा दुइटा कारण देख्छन्– पहिलो, नेपालमा विद्यार्थीको आकांक्षाअनुरुपको शिक्षा नहुनु र अर्को, अभिभावकले छोराछोरीको भविष्य नेपालमा नदेख्नु ।
“केही हुनेखाने र पैसावालहरु नेपालमा छोराछोरीको राम्रो भविष्य देख्दैनन् । आफ्ना छोराछोरी विदेश पढ्न जाउन्, उतै जागिर खाउन् भन्ने मनोविज्ञान छ,” उनले भने, “हाम्रोमा विषयको विविधता छैन । केही अपवादबाहेकका कलेज र विश्वविद्यालयले क्वालिटी एजुकेशन दिन सकेका छैनन् । त्यसकारण पलायन बढेको हो ।” अर्कोतर्फ शिक्षालय, शिक्षक र अभिभावक स्वयंले पनि यति ग्रेड वा अंक ल्याएमात्र विदेश जान सकिन्छ भनेर प्रोत्साहित गर्ने हुनाले पनि सो संख्या बढेको उनी बताउँछन् ।
नो अब्जेक्सन लेटर लिनेहरु सबै विदेशमा गएर पढ्ने नै हुन् भन्न नसकिने बताउँदै उनले कतिपय स्टुडेन्ट भिसामा गएर विदेशमा काम तथा पेशा गर्ने दाबी गरे । यसका कारण पनि बिदेसिनेको संख्या बढेको उनको अनुमान छ । “यसलाई रोक्न नेपालमै रोजगारीका अवसर सृजना गर्नुपर्छ । राज्यले त्यस्तो वातावरण बनाउन सक्नुपर्छ,” अधिकारी भन्छन् । बाह्रखरिमा खवर छ ।
![[Tags] 5F340C4B-DD70-43B9-B99D-CD3216E37BCC-300x172 नेपालबाट बिदेश जाने विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/07C0C1B7-1F05-4818-9AB2-F6BAFE6F07F0.jpeg?resize=300%2C185&ssl=1)