तीजको गीत
अनिता भण्डारी (पौडेल )
नंया बानेश्वर ,काठमाडौँ
मेलापात छैन आमा छैन पानी-पंधेरो
छैन मलाई कुनै डर, कालो अँधेरों
गाह्रो भए सुतिदिन्छु नत्र काममा तल्लिन
कहिले चमक अनुहारमा कहिले मलिन
तिम्ले कति दू:ख गर्यौ सहेर बस्यौ नि
आफ्नो भन्दा अरुकै मनमा पस्यौ नि
अफिस जान्छु कमाउछु छैन कुनै अभाव
जे जस्तो आई पर्छ देखाई रबाफ
भन्ने ले त जे नि भन्छन राम्रो र नराम्रो
म म भन्ने भावना छ, आउदैन हाम्रो
दू:ख पनि छैन आमा फुर्सद पनि छैन
अरु जस्तो पिल्सिएर बस्ने म हैन
बोल्न पनि जानेकै छु खुसी खोज्छु हरपल
नजानेमा गर्छु म त ठुलै छलफल
पहिले जस्तो दू :ख छैन बढाऔं जोसजागर
घर छेउको खोला पनि सम्झी सागर
हक हित भन्दा पनि पहिले बनौं जागरण
बदलेर हिडौ अब आफ्नो आचरण
रोगी र सुस्त भए भने हेप्छन संधै हामीलाई
कुरा काट्ने होच्याउने फ्याकौ बानीलाई
नारी शक्ति नारी भक्ति देखुन अब साराले
चिच्याएर केही हुदैन फोस्रो नाराले
नारी पुरुष बराबरी हुनुहुन्न भेदभाव
दमन र शोषकले भेट्छन जवाफ
आत्मनिर्भर बन्नुपर्छ, बनौं सधै फूर्तिलो
सफलताको शिखर पुग्न चढौ खुट्किलो