बिनायक अधिकारी
प्रिय सविता
संगै रहेर या पत्र कोर्दै छु । आज बिहानको खाना बनाउदाको मेरो राम कहानि तिमिसंग सेयर गर्न मन लाग्यो । सिधै भन्न पनि कथा लामो हुने भयो त्यसैले पत्रमा भन्दैछु । आशा छ तिमी रात्रीकालीन कामको थकाइपछिको मिठो मिठो निन्द्रामा छौ । आठ बिहान खाना बनाउन पाएको जिम्मेवारी अनुसार प्रयास गरें । भात र दाल पकाउन त खासै समस्या रहेन । एउटा कुकरमा दाल हालें, बेसार हाले, नुन हालें अनि एक चम्चा घिउ थपें र मज्जाले सिठि लाईदिएं लतक्क भएर पाकेछ । अर्को कुकरमा पनि चामल हालें, पानी हालें र दुइ सिठि लाईदिएं भात पाकिहाल्यो । यतिबेला सम्म छोरिलाई दुईफेर खानेकुरा खुवाएर न्यापी र लुगा फेरिदिई सकेको थिएं । छोरोले पनि ब्रेकफाष्ट हानिसेकेको थियो । तिमी निद्रामा थियौ । सोहि बेला एकजना साथिको फोन आयो र म केहि मिनेट त्यतै अल्झन पुगें । त्यतिबेला मैले कराहिमा चिकेन बसालिसकेको थिएं । बाहिर साथिले बोलायो म बोल्न गएं उता बोल्ने मन पनि छ यता तरकारि डढ्ने भो भन्ने पिर पनि छ । हतार हतार साथिसंग बिदा भएर भित्र छिरे धन्न चिकेन केहि भएको रहेनछ पुरै पानि निस्केर गद्गगद गर्दै रहेछ । खै किनहो आज पहिल्यै मनले हरेस खायो तरकारि मिठो हुने भएन भनेर । बेसार हालें पानि सुक्ला कि भनेर किनकि मेरो प्रयास हरसंभव तरकारि मिठो बनाउने थियो । यो पनि थाहा भयो कि आज चिकेन नभुटिने भयो किनकी चिकेन बनाउने गरको भन्दा अलि धेरै रहेछ । मनले के के सोच्यो मैले झ्याप्प प्याज हाले, नुन हाले, मसला हाले र बिर्को लाईदिए । हुन्छनि जब मानिसको मनले आफुले गर्न खोजेको र बनाउन खजेको जस्तो नहुने भएपछि जे त होला जस्तो हुने रहेछ । यतिबेला बिहानको करिब ११:३० भैसकेको थियो । मलाई खाना खाएर काममा जाने दवाब मनबाट आइरहेको थियो । छोरालाई सोधे तिमी खाना खान्छौ ? उसले हुन्छ बाबा भन्यो । मैले खाना पस्कन लागें । तरकारि हेरेको चिकेन सेतै छ सोचें बेसार मात्रै कम होला स्वाद त मिठै होला । छोरालाई र मलाई खाना पस्कें खान सुरु गरें । कठै बरा धेरै समयपछि मैले पकाएको तरकारी । मैले चिकेन मिठो बनाउन माया रुपी मसला हालें , प्रेमपूर्वक नुन हाले तर बिश्वासिलो अदुवा र लसुन हाल्न भने भुसुक्कै बिर्सेछु । सोचैं मिठो होस पनि कसरि । मलाई त भात निल्न गार्हो भएको छ यो बिचरा छोराले कसरि खाला अनि रातभरि काम गरेर आएकि बुढिलाई यो तरकारिमा भात कसरि जाला । मलाई त यो बिजोक भयो भने त्यो मिढो थुतुनमा झन के जाला । एकमन त लाग्यो यो तरकारि संझेर तुरुक्क आंसु चुहाइदिउं तर छोरो मेरै अघि जेनतेन भात निल्दै थियो । अव मलाई त्यो भात सक्ने प्रेसर भो । हेर बुढि खासमा तिमिलाई संझिने मांयामा भन्दा पनि समस्यामा रहेछ किनकि तिमी त मेरि समस्याकि सहयात्री हौनि त । मैले जर्वजस्ती खाना खाएर लुगा लगाएर हिडें । काममा आउदा पनि मेरो हात मात्रै स्टेरिगंमा रहे मन चांहि त्यहि तरकारिमा रह्यो । जव तिम्ले खाना सुरु गयौ भने तिमिले कसरि खाउली र मलाई के भनौंली भनेर ।
भन्छ्यौ नि तिम्ले मलाई तपांइले मलाई माया गर्नुहुन्न भनेर । जाबो तरकारि नमीठो हुदा त मलाई दिनैभरि पेट पोल्ने रहेछ भने ति भन्दा अन्य ठुला कुराले कति पोल्छ होला सोच त । मलाई यी कुरा खुलस्त नभने सम्म मेरो मनमा चैननै भएन त्यसैले यो पत्र कोर्दैछु तपांइहरुलाई लाग्ला मुला तरकारी नमीठो पकायो, चिठि लेख्यो र बुठि फकायो । आफनै बुढि हो कहिलकांहि फकाउन पनि पर्छ ।
यो कथा समान्य हो तर मलाई दिनैभरि पोलिरह्यो । सानो छोराले कसरि खाना खायो? रात्री काम गरे आएकी बुढिले कसरि त्यो खाना निलिन होला र त्यनि सानो कुराले मन कति घोचिरहदो रहेछ भनेर । मैले मेरि बुढि सहित तपांइका बुढिहरुलाई पनि बुझाउनु थियो कहिलेकॉंहि बुढाहरुले चाहेर पनि मिठो खाना बनाउन सक्दैनन् कहिलेकॉंहि नचाहेरै पनि मिठो बनिदिन्छ । जीवन यस्तै हो र हाम्रो मॉंया प्रेम र सद्भाव पनि यस्तै हो । जीवनदाइ मिठो बनाउन प्रयास गर्ने हो तर कहिलेकॉंहि मैले बनाउन खोजेको तरकारि जस्तै । जीवन नमिठोलाइ पनि मिठो बुझिदिने रहेछ हिजोआज मैले यस्तै यस्तै बुझेको छु । बॉंकि अर्को पत्रमा । आजलाइ नमिठो तरकारिको तर्फवाट क्षमा चॉंहे । जदौ ।
सदैव मॉंया गर्ने
बिनायक