अष्ट्रेलियाको शहर ब्रिजवेनमा अष्ट्रेलिया भरका गजलकारका गजल वाचन गर्दै “गजल मुशायरा” कार्यक्रमको नयॉं संस्करण सम्पन्न भएको छ । सिड्नीमा छ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा यौटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित यो कार्यक्रम सेप्टेम्वर १७ तारिख सनिबारका दिन अपरान्ह ३:३० बजेदेखि हेमिल्टन टाउन हलमा सम्पन्न भएको हो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=223%2C59&ssl=1)
सुरुवाति देखिनै वाहबाहि पाएको गजल मुशायरामा २० जना गजलकारहरुको गजल वाचन सहित नेपाल आइडलका सिजन २ का उप बिजेता बिक्रम बरालको लाईभ गजल गायन भएको थियो । भने जमुना सुबेदी तथा एलिना न्यौपाने द्वयको गजलनृत्यले माहौल थप रमाइलो बनाएको थियो । गजल वाचनमा यस पटक सिड्नीबाट जितेन्द्र मल्ल, अशोक शर्मा, आदर्श खत्री, ओमराज अधिकारी, सृजना थापा, उत्सव आरसी र शिबजी भण्डारी हुनुहुन्थ्यो भने ब्रिसबेन बाट डा केशव शर्मा, कृष्ण समर्पण, हरि अधिकारी, राजेश्वरी रेग्मी आचार्य, लक्ष्मी खड्का, बसन्त सुवेदि, सफल घिमिरे र शिशिर सिंखडाको सहभागीता रहेको थियो भने तास्मानियाबाट इश्वर पौडेल हुनुहुन्थ्यो । मेलबर्नबाट लक्ष्मण सन्जेल, रमेश अधिकारी र कल्याण अधिकारी भने क्यानबेराबाट बिनायक अधिकारी, शुलभ दंगाल र तुल्सा पाण्डे लगाएतका गजलकारहरुले साथ दिनुभएको थियो । गायक बिक्रम बरालले गीत गॉंउदा श्रोताहरु मन्त्रमुग्ध बनेको देखिन्थ्यो । यहॉं वाचन भएका केहि गजलका शेरहरु राखिएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/5D9CE6D0-2FBD-4F49-B2B6-7791A0C65F46.jpeg?resize=640%2C367&ssl=1)
हिजो अस्ति उधारो खाइयो साउजि नमस्कार
गरीबी सङ्गै मित लाइयो साउजि नमस्कार
घर बाट पैसा आउन अलि समय लाग्छ रे
आज पनि उधारो चाइयो साउजि नमस्कार
गजलकार उत्सव आकासको यो गजल
बिग्रेको केही छैन,भो सच्याउनु पर्दैन ।
कसैका लागि आफ्नो बानी लत्याउनु पर्दैन।
एक्कासि उसको मुहारमा अनौठो चमक आयो
बुझ्यो जीवनलाई गजल जस्तो मिलाउनु पर्दैन।
गजलकार अशोक शर्माको यो गजल
एउटा योध्दाको युग बदल्ने तयारी राहदानीमा विलिन भयो,
सम्झिनुस्, कुनै बेलाको आतङ्ककारी राहदानीमा विलिन भयो,
आँसु सहेर हिडेकै दिन आँखालाई सम्झाएर भने,
नरो अब त सब जिम्मेवारी राहदानीमा विलिन भयो,
गजलकार इश्वर पौडेलको गजलबाट
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/C5CDEB14-F70E-4D9F-9A2A-385F598B315F.jpeg?resize=640%2C858&ssl=1)
मेरो बारे जान्नुछ भने मेरो संगत गरेर हेर
यहाँ प्राय:जसो अड्कल खतरनाक हुन्छन्
माछालाई पानी प्यास लाग्छ कि लाग्दैन होला ?
मुर्दालाई ज्युँने आश लाग्छ कि लाग्दैन होला ?
गजलकार जितेन्द्र मल्लका गजलका अंश ।
डर लाग्ने जिन्दगीको भर के होला?
म छु छैन कसैलाई खबर के होला?
गजलकार तुल्सा पाण्डेको गजलवाट
म नै सर्वज्ञ हुँ सबै बाँचेका छन मात्र मलाई सोधेर
उसको यस्तो दाबी सुनी मृत्यु पनि फर्कियो हाँसेर
हाम्रो सम्बन्ध टुटाउनेहरूलाई, त्यस्तो फाईदा होस्
जस्तो कवि, ‘महाकवि’ भएथे मुनालाई एक्लो छाडेर
गजलकार आदर्श खत्रीको गजलबाट
गर्न सके गरौँ सम्मान मान्छे जिउँदो हुँदामा नै
कात्रो माथि दोसल्लाले के पो गर्छ मरेपछि
गजलकार डा केशव शर्माका गजलबाट
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/D2B6153A-6C3A-40FF-AF25-7BE4A34DF6D2.jpeg?resize=640%2C427&ssl=1)
बिक्रम तिमिल्सिना र लक्ष्मण सन्जेल द्वयले पहिलो चरण र दोस्रो चरण गरेर संचालन भएको कार्यक्रमका बारेमा स्वागत सहित जानकारी संयोजक जितेन्द्र मल्लले गर्नुभएको थियो । ब्रिसवेन संस्करणको संयोजन डा केशव शर्माले गर्नुभएको थियो । अष्ट्रेलियन र नेपाली राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रम पछि सम्पूर्ण गजलकारहरुलाइ खादा ओढाएर स्वागत गरिएको थियो । कार्यक्रममा बसन्त ओली बसन्तीको गजल पुस्तक बुइको अष्ट्रेलिया लोकार्पण गरिएको थियो । गजलकार र सहयोगी संस्थाहरुलाइ प्रमाणपत्र प्रदान गरेर अन्त्य भएको थियो । उपस्थिति सबैलाइ चिया खाजाको प्रवन्ध गरिएको थियो । कार्यक्रमको सह आयोजक अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्याण्ड च्याप्टरले गरेको थियो भने सहयोगी संस्थाका रुपमा एनआरएनए अष्ट्रेलिया रहेको थियो । कार्यक्रमलाइ एकसपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको थियो । गोल्ड स्पोन्सरमा जेनिथ क्विक फाइनान्स, इनोभेटिभ एसोसिएट्स र मल्टि डाइनामिक रियल स्टेट रहेका छन् । सिल्भर स्पोन्सरहरुमा मण्डला कन्सल्टेंसी र ब्लुबेरि रियल स्टेट मेलबर्न रहेका छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/53700151-37B2-47FC-AF52-AC5FCC0F31EC.jpeg?resize=640%2C361&ssl=1)
मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/F842A2DB-CCB4-4D37-A1FA-122126368D14.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 ब्रिसवेनमा गुन्जिए गजलका “शेर” ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/422078AE-C91A-4F72-AB01-2D5727DD94A9.jpeg?resize=640%2C427&ssl=1)