![[Tags] copy_893111AD-A543-431F-A922-9992A7FF70D9-1024x365 कहॉं बस्ला प्रतिनिधि सभाको पहिलो बैठक?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/03/copy_893111AD-A543-431F-A922-9992A7FF70D9.jpeg?resize=640%2C228&ssl=1)
निर्माणाधीन नयाँ संसद भवनको मुख्य सभाकक्ष समयमै तयार हुन नसकेपछि प्रतिनिधि सभाका आगामी बैठकहरू सोही परिसरमा रहेको बहुउद्देश्यीय हल मा सञ्चालन गरिने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा आन्दोलनका क्रममा आगजनी भएपछि सिर्जना भएको बैठक कक्षको अभावलाई टार्न संघीय संसद सचिवालयले यो वैकल्पिक र अस्थायी व्यवस्था गरेको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सरकारले चैत १ गतेभित्र मुख्य सभाकक्ष हस्तान्तरण गर्ने लक्ष्य राखे पनि निर्माण कार्य सम्पन्न हुने अवस्था नदेखिएपछि शहरी विकास मन्त्रालय र निर्माण व्यवसायीसँगको समन्वयमा बहुउद्देश्यीय हललाई प्रयोगमा ल्याउन लागिएको हो। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र संसदका केही प्रारम्भिक बैठकहरू यसै हलमा हुनेछन्।
हाल बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही प्राविधिक काम मात्र बाँकी रहेकाले बैठक बस्न कुनै बाधा नपर्ने प्रवक्ता गिरीले स्पष्ट पार्नुभयो। मुख्य सभाकक्ष पूर्ण रूपमा तयार भएपछि मात्र बैठकहरू त्यहाँ स्थानान्तरण गरिनेछ। यसैगरी, राष्ट्रिय सभाको बैठक भने हाल सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन भइरहेको छ।
सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा फैलिएको यस संसद भवनको निर्माण कार्य २०७६ असोज १६ गतेदेखि सुरु भएको थियो। सुरुवाती सम्झौता अनुसार २०७९ असोज १६ भित्रै सम्पन्न हुनुपर्ने यो आयोजना २०८२ फागुनसम्म आइपुग्दा पनि अधुरै छ। ५ अर्ब ६७ करोडभन्दा बढीको लागतमा तुन्दी–सेक जेभीले लिएको यो ठेक्काको म्याद पाँचौँ पटक थपिँदा पनि काम सकिएको छैन। रुफिङ र इन्टेरियरका लागि छुट्टाछुट्टै कम्पनीहरूसँग गरिएका सम्झौताको म्याद सकिँदा समेत काम बाँकी नै रहनाले संसद सचिवालयलाई अस्थायी विकल्प रोज्न बाध्य पारेको हो।