![[Tags] copy_893111AD-A543-431F-A922-9992A7FF70D9-1024x365 पार्टिका बारेमा जथाबाभी नबोल्न राजु पाण्डेको चेतावनी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/03/copy_893111AD-A543-431F-A922-9992A7FF70D9.jpeg?resize=640%2C228&ssl=1)
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडाौं-३ का विजयी राजु पाण्डेले आगामी प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह (बालेन) को नाममा कुनै दुविधा नरहेको स्पष्ट पार्दै यसबारे ‘चाहिने-नचाहिने’ टिप्पणी गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
मंगलबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पाण्डेले बालेन शाह रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । पार्टीभित्र बालेनको उम्मेदवारीलाई लिएर फरक-फरक धारणा सार्वजनिक भइरहेका बेला पाण्डेको यस्तो टिप्पणी आएको हो ।
“रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो, यसमा कुनै कन्फ्युजन छैन,” पाण्डेले भने, “यसबारे चाहिने-नचाहिने कुरा गर्ने छुट कसैलाई छैन र त्यस्तो कुरा जनताले सहनेवाला पनि छैनन् ।”
पार्टी उपसभापति डीपी अर्यालले केही दिनअघि बालेन प्रधानमन्त्री बन्ने विषयमा आफूलाई थाहा नभएको भनी दिएको अभिव्यक्तितर्फ संकेत गर्दै पाण्डेले त्यसलाई ‘गैरजिम्मेवार’ संज्ञा दिए । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, “उहाँ (उपसभापति) ले थाहा छैन भन्नुभएको हो भने त्यो गैरजिम्मेवार कुरा हो । पार्टीका पदाधिकारीहरूले मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर गएर मान्छेपिच्छे फरक कुरा नगर्न म अनुरोध गर्दछु ।”
पाण्डेले पार्टी नेतृत्वलाई नै प्रधानमन्त्रीको विषयमा जथाभावी नबोल्न चेतावनीसमेत दिए । बालेन काठमाडौँको मेयर हुँदा नगर प्रहरी प्रमुख रहेका पाण्डे पछिल्लो समय बालेनको पक्षमा दृढतापूर्वक उभिँदै आएका छन् ।
रास्वपाभित्र अहिले प्रधानमन्त्री र सम्भावित मन्त्रीमण्डललाई लिएर दुई धार देखिएको चर्चा चलेको छ । बालेन निकट मानिने अर्का नेता असिम शाहले पनि सामाजिक सञ्जालमार्फत मन्त्री बन्न दौडधूप नगर्न सांसदहरूलाई सुझाव दिएका छन् । शाहले बालेन प्रधानमन्त्री नियुक्त भएपछि उनले आफैँ योग्य टोली छनोट गर्ने उल्लेख गर्दै मन्त्रीका लागि गरिने ‘मिडिया ट्रायल’ को अर्थ नरहेको बताएका थिए ।