![[Tags] IMG_4680-1024x411 क्यानबेरामा ‘गजल मुशायरा २०२६’ आयोजना हुँदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/06/IMG_4680.jpeg?resize=640%2C257&ssl=1)
सिड्नी , अष्ट्रेलिया — नेपाली गजल, साहित्य र सिर्जनालाई प्रवासमा थप विस्तार गर्ने उद्देश्यसहित क्यानबेरामा ‘गजल मुशायरा २०२६’आयोजना हुने भएको छ। मुशायरा परिवारको प्रस्तुतिमा आगामी १९ सेप्टेम्बर २०२६ का दिन क्यानबेरास्थित The Thakali Lounge and Bar, Gungahlin मा विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ।
‘एक सम्पूर्ण गजल कार्यक्रम’का रूपमा आयोजना गर्न लागिएको मुशायरामा अष्ट्रेलियाका विभिन्न शहरमा सक्रिय नेपाली गजलकार तथा गजल गायकहरुको सहभागिता रहने छ। कार्यक्रमका संयोजक/वाचनतर्फ नारायण बराल (क्यानबेरा) र जितेन्द्र मल्ल (सिड्नी) रहनुभएको छ भने कार्यक्रमको सञ्चालन काशि भुसाल (क्यानबेरा) ले गर्नुहुने भएको छ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा जितेन्द्र मल्लको गजल संग्रह ‘शाजिक’को लोकार्पण समेत गरिने भएको छ। यसले कार्यक्रमलाई केवल सांगीतिक प्रस्तुति मात्र नभई नेपाली साहित्य र गजलको प्रवासी भूमिमा प्रवर्द्धन गर्ने साहित्यिक समारोहका रूपमा समेत स्थापित गर्ने अपेक्षा गरिएको जानकारी पनि संयोजक मल्लले हामीलाइ दिनुभएको छ ।
कार्यक्रममा क्यानबेरा, सिड्नी, मेलबर्न, अल्बरी र ब्रिसवेनका गजलकारहरु दुर्गा ढकाल, महेश्वर शर्मा, रिमेन आलोक, विनायक अधिकारी, रमेश अधिकारी, माधव अधिकारी, दुर्गा प्रसाद रिमाल, पुनम चुंडाल, राहुल अर्याल, कोमल खतिवडा, शिवजी भण्डारी, कमल शिशिर, केशव शर्मा, अशोक दवाडी, सजल नयन, उमेश उपाध्याय, कल्याण अधिकारी, कृष्ण समर्पण, प्रेम भुसाल, लक्ष्मण संज्याल, तुल्सा पाण्डे, सुलभ दंगाल, गणेश गौतम, दीपक शर्माले आफना रचना वाचन गर्नुहुनेछ ।
आयोजकका अनुसार कार्यक्रमलाई विभिन्न व्यवसाय तथा सामाजिक संस्थाहरूले प्रायोजन र सहकार्य गरेका छन्। Expert Education & Visa प्लेटिनम स्पोन्सरका रूपमा रहेको छ भने विभिन्न संस्था तथा व्यवसायहरू गोल्ड स्पोन्सर, ट्राभल पार्टनर, मिडिया पार्टनर, हस्पिटालिटी पार्टनर, फोटो/भिडियोग्राफी पार्टनर तथा सपोर्टरका रुपमा सहयोग गर्नुभएको छ ।
कार्यक्रमको प्रवेश शुल्क ५० अष्ट्रेलियन डलर तोकिएको छ, जसमा दुई कोर्स अनट्रे र डिनर समेत समावेश गरिएको छ। प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्यानबेरामा पहिलोपटक आयोजना हुन लागेको यस किसिमको गजल मुशायराले नेपाली साहित्यप्रेमी तथा गजलप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने र कार्यक्रमको आनन्द लिने अपेक्षा गरिएको छ। क्यानबेरामा लामो समयको प्रतिक्षा पछि ग़ज़ल मुशायरा कार्यक्रम हुन लागेका हुनाले क्यानबेरा तथा क्विनबियनबासी सम्पूर्ण नेपालीहरुले उपस्थित भएर गजलको मज्जा लिनेमा आफु ढुक्क रहेको कुरा क्यानबेरा संयोजक नारायण बरालले जानकारी दिनुभएको छ ।
कार्यक्रम: गजल मुशायरा २०२६
मिति: १९ सेप्टेम्बर २०२६
समय: साँझ ४ बजेबाट
स्थान: The Thakali Lounge and Bar, Gungahlin, Canberra
प्रवेश शुल्क: $५० (अन ट्रे र डिनरसहित)
![[Tags] IMG_4680-1024x411 क्यानबेरामा ‘गजल मुशायरा २०२६’ आयोजना हुँदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/08/IMG_5698.jpeg?resize=640%2C853&ssl=1)