काठमाडौं। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेता बिपी कोइरालाको आदर्श र सिद्धान्तबाट कांग्रेस विचलित नभएको बताएका छन्। बिपीको १०५औँ जन्म दिवसका सन्दर्भमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले बिपीको बाटो छोड्यो भन्ने द्विविधाबाट मुक्त हुन आम कार्यकर्तालाई आग्रह गरे।

कांग्रेले निर्वाचनमा विजयी हुनबाट चुकेपनि राजनीतिक सिद्धान्तमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “हाम्रा काम गराइ र व्यहारमा भने केही सच्याउनुपर्छ।”

वरिष्ठ नेता पौडेलले सरकारले नागरिक अधिकारमाथि घुमाउरो पारामा हस्तक्षेप गर्न खोजेको र अदालत, संवैधानिक संस्था एवं कर्मचारीतन्त्रमाथि समेत दबाब सिर्जना गर्न अघि बढेको आरोप लगाए।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसले विपीको बाटो विराएको भन्ने दुस्प्रचार गरिएको टिप्पणी गर्दै बिपी कै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तको सेरोफेरोमा नेपालको संविधान र अन्य राजनीतिक उपलब्धी हासिल भएको बताए।

सरकारले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउँदै उनले सरकार सङ्घीयताप्रति सकारात्मक नदेखिएको मुख्यमन्त्रीहरुबाटै गुनासो आएको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले बिपीको आदर्शअनुसार नै कांग्रेस चलेको उल्लेख गर्दै तत्कालीन र अहिलेको परिस्थिति मात्र फरक देखिएको धारणा व्यक्त गरे। परिवर्तित सन्दर्भअनुसार कांग्रेस अघि बढ्नुपर्ने उनको सुझाव थियो।

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापाले बिपीलाई सम्झिदै गर्दा पार्टीलाई सशक्त बनाउन आम नेता कार्यकर्ता अनुशासित र संगठित हुनुपर्ने बताए। रासस

Total Page Visits: - Today Page Visits:
Shares