काठमाडौँ – अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शर्पालाई सरकारले बर्खास्त गरेको या राजीनामा दिन निर्देशन दिएकोबारे केही औपचारिक जानकारी नआएको उनका पारिवारिक स्रोतले दावी गरेका छन्।
‘हाम्रो जानकारी अनुसार सञ्चारमाध्यममा आएका समाचारहरु भ्रमपूर्ण अड्कलबाजीमा आधारित छन्, र त्यसमा सत्यता छैन,’ स्रोतले देश सञ्चारसँग भन्यो।
शेर्पा निकट स्रोतकाअनुसार एक जना मन्त्रीका सहयोगीले सञ्चारमाध्यमलाई असत्य समाचार दिइरहेको तर आफ्नो पदीय मर्यादाका कारण राजदूत शेर्पा तत्काल केही बोल्न नमिल्ने अवस्थामा छन्।
उनका घरेलु कामदारले मानव तस्करीको आरोप लगाएपछि उनलाई सरकारले बयानका लागि नेपाल झिकाएको थियो। उनको बयान र अन्य छानबिनपछि परराष्ट्र मन्त्रालयको तीन सदस्यीय टोलीले सरकारलाई निर्णय सहितको प्रतिवेदन बुझाएको थियो।
शेर्पाले आफुलाई आरोप लगाउने सहायकका केही आपराधिक क्रियाकलापबारे आफुले एक वर्षअघि नै सरकारलाई लेखी पठाएको हुँदा त्यसबाट बच्न उल्टो आफुलाई मानव तस्करीको आरोप लगाएको दावी गरेकी थिइन्। देश संचारमा खवर छ ।