आङ दावा जाङबु शेर्पा , पर्थ- पश्चिम अष्ट्रेलिया
गैर-आवसिय नेपालीहरुको संस्था एन. आर. एन. अष्ट्रेलियाको नयाँ सदस्यता लिने तथा नविकरण गर्ने समय अवधी हिजो (आइतबार, अप्रिल ३० तारिख) सकियो।
विगतका वर्षहरुमा भन्दा यस पटक सदस्यता नविकरण र दर्ता प्रकृयामा अलि कडी-कडाउ देखिएको थियो। फलत: सदस्य्ता दर्ता एवं नविकरणको द्रुतता शुरुवाती दिनहरुमा अपेक्षा गरिएभन्दा अलि न्यून देखिए र यो पटक संख्यामा कमी हुने धेरैले अड्कल काटेका पनि थिए। तर म्याद सकिनु दुई दिनभित्र मात्र यसले अनपेक्षित रूपमा फड्को मारे।
सदस्यताको संख्यामा बढोत्तरी भएसंगै अष्ट्रेलिया अहिले संसारकै धेरै एन. आर. एन. सदस्यता भएको देशको रूपमा पहिलो स्थान प्राप्त गर्न सफल भएको दावी गरिएको छ। आज प्रकाशित एन. आर. एन. ए.को आधिकारिक वेब साइटको प्रारम्भिक तथ्याँक अनुसार अष्ट्रेलिया भरी ११,८१७ सदस्यता दर्ता भएको देखिन्छ, जसमा न्यू साउथ वेल्समा ४७८६, भिक्टोरियामा २००७, साउथ अष्ट्रेलियामा १०७३, ताज्मेनियमा २०८, नोर्दर्न टेरिटोरीमा ५३३ क्यान्बेरामा ७३८, कुइन्सल्यान्डमा १४६४ र पश्चिम अष्ट्रेलियामा १००८ सदस्य दर्ता भएको देखिन्छ।
यस कार्यलाई सफल बनाउन एन. आर. एन. अष्ट्रेलियाको भूमिकालाई सफल माने पनि, यो चुनावमुखी सदस्यता मात्र भन्दा पनि स्वैच्छा र दीर्घकालिन रूपमा सदस्यता बनाउन तिर लागे एन. आर. एन. को छबी अझ बढ्ने कुरामा दुईमत नहोला!
सदस्यता दर्ता र नविकरण संगै अब अष्ट्रेलिया एन. आर. एन. ए. को चुनावी माहोल बढ्दै जानेछन भन्ने कुरा सहजै अनुमान लाउन सकिन्छ। स्मरणिय रहोस्, अष्ट्रेलियामा यही मे १८ तारिखका दिनै आगमी ४ वर्षका लागि नयाँ सरकार गठन गर्न संघिय निर्बाचन हुँदै छ। तथापी अष्ट्रेलियाको नेपाली समुदाय भने संघिय निर्बाचन भन्दा पनि जुलाई ६ तारिखका दिन (संघिय चुनाब भन्दा करिव डेढ महिना पछाडि) हुन लागेको एन. आर. एन. ए. को चुनावी तयारी र रणनिती तयार गर्न युद्दस्तरमा अगाडी बढेको प्रष्ट देखिन्छ।
जे होस्, “एक पटकको नेपाली सधैंका लागि नेपाली” र नेपालको सामजिक र आर्थिक रुपान्तरणका लागि ज्ञान, सीप र नविनतम प्रविधि भित्र्यौने उदेश्य लिएको बिश्व-ब्यापी एन. आर. एन. ए. अभियानमा एन. आर. एन. ए. अष्ट्रेलियाले विगतमा भन्दा अझ बढी सकृय रहन सकूँन भन्ने कामना।