बिनायक अधिकारी : क्यानबेरा
अष्ट्रेलियाको राजधानि क्यानबेरा र क्विनबियन वरपर थोरै नेपालीहरुको बस्ति छ । हाल यत्तिनै संख्यामा नेपालीहरु छन् भनेर भन्न पुरै तथ्यॉंक नभएपनि अन्दाजी ४ हजार नेपाली छन् भनेर अनुमान गर्न सकिन्छ । एनआरएनएको गत निर्वाचनमा सदस्यहरुको तथ्यॉंक हेर्नेहो भने यसको संख्या ७२० मात्रै हो तर सदस्य बन्न मीलेर पनि सदस्य नवन्नेहरु र चाहेर पनि सदस्य बन्न नपाएकाहरु यहॉं धेरै छन् ।
क्यानबेरामा नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढे संगै कार्यक्रमहरु पनि धमाधम बढ्न थालेका छन् । पहिला एउटा हुने दशैं कार्यक्रम यसपटक चार पॉंचको संख्या पुग्ने देखिएको छ । दशैं कार्यक्रममात्रै नभइ चलचित्र प्रदर्शन गर्ने संस्था पनि बढेका छन् भने अन्य इभेन्ट्स गर्ने संस्थाहरुको पनि बृद्धि भएको छ ।
हामीले चाडबाड नामका लागी मात्र मनाइरहेका छौं कि त्यसवाट भोलिको पिढिंलाइ पनि केहि सिकाइरहेका छौं त्यो महत्वपूर्ण कुरा हो । कार्यक्रमका नाम जे भएपनि उहि दुइ चार जना नाच्ने, गाउने र आफना मान्छेलाइ स्टेज जान सिकाउनका लागी मात्रै गरिरहेका छौं भने यो तपॉंइहरुका लागी मात्रै राम्रो हो समाजका लागी होइन । खाजा खाना र कोक बियर बेचेर मात्रै संस्कार संस्कृति र परम्परा धानिदैनन यो संगै केहि बिशेष भएनन भने अव कार्यक्रम बाबुले श्राद्धमा बिरालो बॉंधेको पारामा निरन्तरता दिने मात्रै देखिन्छ ।
तं भन्दा म के कम वा पहुँच हुनेले पावर देखाउने र यो उसको स्वार्थका लागी यो मेरो बिषय होइन भनेर मपाइत्व बोकेर हिडेर पनि न संस्था चल्छ न समाज चल्छ । समाजमा संस्थागत हिसावमा वा सामाजिक हैसियत भएकाले आफनो स्थानमा बस्न नसक्दा पनि समाज द्वेष फैलाउने मनोवृत्ति देखिन्छ भने समाजलाइ कसरि राजनैतिक वा टोले गुटवाट टाढा राख्ने भनेर सामाजिक अगुवाहरुले सक्रियता देखाउन नसक्दा पनि बिभिन्न संस्थागत वा ब्यक्तिगत अनपेक्षित कार्यहरु बढ्ने देखिन्छ ।
प्रजातांत्रिक समाजमा सबैले आफूले मन लागेका कुराहरु गर्न पॉंउछन् तर मन लाग्यो भन्दैमा जे पनि गर्ने वा गर्नै नपाउने त कुरा यी होइनन् । हामी नेपाली मन लिएर उज्जवल भबिष्य सोचेर यता आएका हौं । हामीले गर्ने हरेक कुराहरुमा हाम्रो पहिचान जोडिएको हुन्छ । हामीले सबै मीलेर हाम्रो संस्कार, संस्कृति, भौगोलिक बिविधता, प्राकृतिक सम्पदा र हाम्रा गौरवलाइ यता चिनाउन सक्यौं भने बल्ल हामी भएको महसुस हुन्छ । नत्र हामीहरुले कार्यक्रमका शिर्षक जे दिएर कार्यक्रम गरेपनि अन्त्यमा दुइ चार रुपैयाको जोरजामको कथा मात्रै हो ।