प्रकाश सुबेदी

देउवा र सिटौलाले आलम र काँग्रेस बिरुद्द “षड्यन्त्र” भयो भन्दा मान्छेहरु आगो भए । तर, वास्तवमा उनिहरुको भनाइ “सही” थियो ।

यथार्थ १: अहिले कांग्रेसको सरकार भएको भए आलम बिरुद्द मुद्दा चल्थ्यो त ? अबश्य चल्दैनथ्यो । एउटा पार्टिको सरकार हुँदा त्यस्तो आँङै सिरिङ्ग हुने जघन्य अपराधमा समेत मुद्दा नचल्ने, अर्को पार्टिको सरकार हुँदा मुद्दा चल्ने भने पछि “षड्यन्त्र” त भएकै हो ।

यथार्थ २: हाम्रा प्रहरीका रेकर्डमा र अदालतमा यस्ता जघन्य अपराधका हजारौं मुद्धाहरु शक्ती र पैसाको आडमा दबाएर राखिएको अवस्थामा छन । प्रहरी र जिम्मेवार निकायहरु सबैलाई तिनका बारेमा थाहा छ । तर ती सबै अपराधीहरु एक वा अर्को पार्टीमा आबद्द छन । केहीले दुबै तिरका पार्टीलाई समेत खुशी बनाएर राखेका छन भने अरु केही हरेक पटक सरकार फेरिँदा पार्टी पनि फेर्छन । त्यसो गरिएन भने फेरी मुद्दा ब्युँतिहाल्छ ।

यथार्थ ३: उदाहरणका लागि, माओवादीहरु घुमीफिरी किन सत्तामै रहन चाहन्छन ? किनकी जनयुद्दका दौरान नितान्त ब्यक्तिगत रिसिवी र दुश्मनीकै आधारमा दर्जनौ जघन्य गैर-राजनितिक अपराध भएका छन । मुद्दा चलाऊन यथेस्ट साक्षी-प्रमाण पनि छन । तर, जबसम्म सत्ताको छाँया परिरहन्छ, ती मुद्दा चल्दैनन । प्रचन्ड र माओवादी कमजोर भएका दिन, उनिहरुलाई सत्ताको आशिर्वाद सकिएको दिन, यस्ता धेरै मुद्दा सतहमा आउनेवाला छन ।

यथार्थ ४: यो सबै दण्डहिनताको जरो कहाँ छ त ? उत्तर सिधा छ: प्रहरी-प्रशासन र अदालतको राजनितिकरण र भ्रष्टिकरणमा छ । सबै पार्टीलाई आफ्नै आइजिपी र न्यायाधीश/प्रधानन्यायाधीश किन चाहियो त ? किनकी, अर्को पार्टीको आइजिपी र न्यायाधीश/प्रधानन्यायाधीश आउनासाथ यसै गरी एक-एक करतुत सतहमा आउनेवाला छन, र आफ्नो उठिबास हुनेवाला छ ।

अहिले आफ्नो सत्ता भएको भए यो मुद्दै चल्दैनथ्यो भन्ने कुरा देउवा र सिटौलालाई प्रष्टसँग थाहा छ । त्यसैले आलम र काँग्रेस बिरुद्द “षड्यन्त्र” भयो भन्ने उनिहरुको आरोप सही हो, एउटा सर्पले अर्को सर्पको खुट्टा छर्लङग देखेकै हो ।

Total Page Visits: - Today Page Visits:
Shares