डील्ली आचार्य

म बौलाएँ

म बौलाएँ
कहाँ जाऊँ

उकुसमुकुस छ मन
आक्रोश कोसँग पोखूँ
बादल मडारिएपछि
घनघोर वर्षा हुनै पर्छ
असिना होस् वा पानी
भल त पक्कै बग्नेछ

म बौलाएँ
कहाँ जाऊँ

छिमेकीप्रति आक्रोश पोखूँ भने
मेरै घरका मुखियाहरू मलाई
मेरै आँगनमा चौखुर्‍याउँछन्
मैलाई पाता फर्काएर लडाउँछन्
हुनत तिनीहरूलाई मैले नै रोजेको हुँ
मेरै भूमि बचाउने कसम खुवाएको हुँ

म बौलाएँ
कहाँ जाऊँ

इतिहासलाई गाली गरेर
जनताको ताली खानेहरू
फेरि इतिहास दोहोर्‍याएर
खर्क कसरी बुझाउन सक्यौ?

म बौलाएँ
कहाँ जाऊँ

समय बदलिएछ
मैले पत्तै पाइनँ
जनताको छोरो
म तपाईंकै नरे,
यसो भन्नेहरू
अहिले तपाईंको
मुक्तिदाता नरेश
भन्दै छन्

म बौलाएँ
कहाँ जाऊँ

Total Page Visits: - Today Page Visits:
Shares