काठमाडौँ। पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, “गुट नभएका हामी जस्ताको अस्तित्व खै ?”
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित कार्यक्रममा नेता श्रेष्ठले आफूले पार्टी सभापति देउवालाई भेट्न दर्जनौँ पटक प्रयास गरेपनि भेट नपाएको गुनासो गरे।
अर्का पुराना नेता उत्तमनारायण श्रेष्ठले जीवनभर आफू र आफ्नो परिवारले काँग्रेसलाई नै भोट हालेको तर यस पटकको निर्वाचनमा पार्टीको निर्देशनमा पूर्वपञ्चलाई भोट हाल्नुपरेको दुःखेसो गरे। उनले २०१४ सालमा आफूले काँग्रेसको सदस्यता लिएको बताउँदै अहिले सक्रिय सदस्यता लिन नेताहरुको चाकडी गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरे।
पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले हालै सम्पन्न निर्वाचनमा काँग्रेस पार्टीका रुपमा नभई गुट उपगुटको मोर्चाका रुपमा प्रस्तुत भएको आरोप लगाउँदै बामगठबन्धनको असर र प्रभावका बारेमा नबुझी प्रतिक्रियास्वरुप काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नु गलत थियो भनी टिप्पणी गरे।
पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पार्टीमा अति गुटबाद बढेको बताउँदै नेतृत्वमा ‘काँग्रेस भनेको म हुँ, मलाई सहयोग गर्ने मात्र काँग्रेस हुन्छ’ भन्ने गलत दम्भ हाबी भएको आरोप लगाए। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै जोशीले भने, ‘अघिल्लो चुनावमा पनि मेरो ठाउँमा अर्कैलाई उमेद्वार बनाउन ४० लाखमा टिकट बेचियो यो पटक त करोडमै बेचिएको सुनेको छ। तपाइहरुले सके त मलाई देश निकाला नै गर्नुहुन्थ्यो होला तर म देश र पार्टी छोडदिन।’
पूर्वकेन्द्रीय सदस्य विनयध्यज चन्दले निर्वाचनमा डन, पैसावाल र नेताका परिवारले मात्र टिकट पाएको टिप्पणी गर्दै विपीको नाम भजाउनुभन्दा विपीको विचारलाई आत्मसात् गर्न नेतृत्वलाई सुझाव दिए। चन्दले अरु पार्टीमा भोट दिएकालाई कार्वाही गर्छु भन्ने सभापतिलाई कार्वाही गर्नेकी नगर्ने भनि प्रश्न गरे। सभापतिले कतै निर्णय नै नगरि हठात हसियाँ हथौडा अनि गाइमा मत हाल्न निर्देशन दिने अनि अरुलाई कार्वाहीको चेतावनी दिन नसुहाँउने उल्लेख गर्दै उनले कार्वाही हुने हो भने सभापतिबाटै शुरुवात गर्नुपरने बताए।
पूर्वमन्त्री चिरिन्जीवी वाग्लेले काँग्रेसमा आमूल सुधार नभएसम्म यही अवस्था रहिरहने बताउँदै अब जनतालाई प्रत्यक्ष छुने नीति र कार्यक्रमका साथ पार्टी अघि बढ्नुपर्ने बताए।
पार्टीका पुराना नेता तीर्थराम डंगोलले बंशानुगत र पारिवारिक राजनीति अन्त्य गर्न मुलुकमा गणतन्त्र ल्याएको भएपनि पार्टीमा बंशानुगत राजनीति दोहोरिएको बताए।
अर्का नेता दामोदर गौतमले विगतदेखि नै काँग्रेसले कम्युनिष्टसँग गरेको सहकार्य गलत भएको टिप्पणी गर्दै संस्थापक नेता विपीले अपनाएको बाटो पार्टीले आत्मसात गर्नुपर्ने बताए।
पार्टीका पुराना नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले कसैको व्यक्तिगत पद र स्वार्थका लागि पार्टीलाई जुवामा खेल्ने अधिकार कसैलाई नभएको भन्दै पार्टीलाई बनाउन नेतृत्वमा त्यागको आवश्यकता रहेकोमा जोड दिए।
नेता रामबहादुर गुरुङले पार्टी बलियो भयो भने मात्र नेता बलियो हुने बताउँदै पार्टीको आमूल सुधारका लागि गुटउपगुटमा नलागेका नेता कार्यकर्ताको सुरक्षा हुनुपर्ने माग गरे।
नेता श्यामलाल श्रेष्ठले वर्तमान नेतृत्वले बाटो विराएकाले पार्टीको अहिलको अवस्थामा आइपुगेको आरोप लगाउँदै निर्वाचनमा गाई र हसिया हथौँडामा भोट हाल्नुपर्दा काँग्रेसका इमान्दार कार्यकर्ताको आात्मसम्मानमा चोट पुगेको बताए ।
पूर्वसांसद हिरादत्त भट्टले पार्टीमा ६०/४० को भागबण्डा शुरु भएदेखि नै पार्टी ‘कम्पनी’का रुपमा परिणत भएको टिप्पणी गर्दै गुट चिर्नका लागि नयाँ गुट जन्मिएको बताए । पार्टी बलियो भयो भने मात्र नेता बलियो हुने नेता भट्टको भनाइ थियो ।
नेता तिलकप्रसाद न्यौपानेले सरकारका कदमले लोकतन्त्रमाथि संकट आउनसक्ने इंगित गर्दै नेतृत्वलाई मिलेर अघि बढ्न सुझाव दिए।
नेताहरुले आफ्नै घरमा कार्यकर्तालाई भेट्दा गुट हाबी हुने भन्दै उनिहरुले पार्टी कार्यालयमा नियमित उपस्थित भई भेटघाट गर्न नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रममा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतले अन्तक्रियाबाट प्राप्त सुझाव कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको व्यस्थापन पार्टीका नेता डा नारायण खड्काले गरेका थिए। हाम्राकुराडटकम मा खवर छ ।