२१ माघ, पोखरा । आइतबार प्रदेश ४ को प्रदेशसभा सभाहलमा बाहिर सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको थियो ।
मर्यादापालक हलभित्र सुरक्षा व्यवस्था मिलाउन तम्तयार थिए । जनाउ घन्टी बजेपछि सांसदहरु लाइनमा बसेर हाजिरी गर्दै संसद भवनभित्र छिरे ।
मर्यादापालकले सभामुखलाई ड्यासमा पुर्याएपछि सबै सांसदलले उठेर सम्मान व्यक्त गरे । बैठकको कार्यसूचीअनुसार राष्ट्रिय गान बजाउनेदेखि शहिदको सम्मानमा मौन धारणा गर्ने कार्य भएको छ ।
सभामुखले प्रदेश प्रमुखबाट आएको पत्र वाचन गरेर सुनाए । त्यसैअनुरुप बैठकका अन्य कार्यसूची अगाडि बढे ।
खासमा प्रदेश ४ को प्रदेशसभा सोमबार विहान ११ बजे बस्दैछ । सोमबारको बैठक कसरी सुरु हुन्छ, त्यसका प्रक्रियाहरु के के हुन्छन् भन्ने सहजीकरणका लागि आइतबार नै पूर्वाभ्यास गरियो ।
‘अघिल्लो दिन नै संसदको अभ्यास गर्यौं । मैले सभामुखको भूमिका निभाएँ,’ ज्ोष्ठ सदस्य जनकलाल श्रेष्ठले भने, ‘सोमबारको बैठकका सहजरुपमा अगाडि बढाउन आइतबारै संसदीय अभ्यास गरेका हौं ।’
बैठक कसरी अगाडि बढ्छ र सांसदको भूमिका के के हुन्छ भन्ने अभ्यासका लागि अघिल्लो दिन नै सांसदलाई सभास्थल बोलाइएको बैठक सञ्चालनका लागि आएका विज्ञ कर्मचारीका संयोजक जीवराज बुढाथोकीले बताए ।
‘सोमबारको बैठकको अभ्यास आइतबार नै गर्दा बैठकमै बसेको अनुभव गर्यौं,’ प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘बैठकको अभ्याससँगै सोमबार बोल्ने सांसदको नामसमेत संसद सचिवालयलाई उपलब्ध गराएका छौं ।’
![[Tags] E27370E5-9DF3-4B70-B909-207B3091B844-300x180 प्रदेश नं. ४ ले गर्यो बैठक पूर्वाभ्यास ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/E27370E5-9DF3-4B70-B909-207B3091B844.png?resize=300%2C180&ssl=1)
बोल्ने सांसदलाई समयको छिनोफानो
सोमबारको बैठकमा बोल्ने सांसदलाई समय तोकिएको छ । ठूलो दल एमालेलाई सबैभन्दा बढी ३० मिनेट प्रदान गरिएको छ । एमालेबाट सांसद पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र मित्रकुमारी गुरुङले भनाइ राख्नेछन् ।
दोस्रो दल कांग्रेसलाई १७ मिनेट बोल्ने समय दिइएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे बिक र ललिता गुरुङले सभामुखलाई नाम टिपाएका छन् ।
तेस्रो दल माओवादीलाई १४ मिनेट बोल्ने समय तोकिएको छ । माओबादीबाट नेत्र अधिकारी, हरिबहादुर चुमान र गायत्री गुरुङले संसदमा मन्तव्य राख्नेछन् । साना दल नयाँ शक्ति र राष्ट्रिय जनमोर्चालाई ५/५ मिनेट दिइएको छ ।
त्यसमा नयाँ शक्तिका हरिशरण आचार्य र जनमोर्चाका कृष्ण थापाले भनाइ राख्नेछन् ।
सभामुख र उपसभामुख चयनअघि अध्यक्ष मण्डलमा बस्ने सदस्यका लागि दलले संसद सचिवालयलाई नाम उपलब्ध गराएका छन् । अध्यक्ष मण्डलमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १/१ जना सदस्य रहने छन् ।
स्रोत : अनलाइनखवर