काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् ।
२०६१ सालमा महाराजगन्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी वायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत पाटले ५ वर्ष कैद सजाय हुने गरी फैसला सुनाएको थियो ।
उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालत समेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागेको थियो । दीपक मनाङेलाई बिहीबार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।
स्वयम्भु तिनधारामा लुकीछिपी वसेको अवस्थामा महानगरिय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
उनको खोजिका लागि प्रहरी प्रधान कार्यालय इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्नका लागि पत्राचार समेत भएको थियो ।
स्रोत: बाह्रखरि