एक्कासी शहर हल्लियो
भुइंचालोले होइन हल्लाले
देउता हरायो मन्दिरबाट,
अचम्मित पर्छु म
कस्तो शहर हो यो?
निराकार छन् भगवान भन्दै
पत्थर खोपेर आकार दिए
आज उनै बहुलाएछन् भगवान हरायो रे?!
अभिस्ट इच्छाले गर्दा
अनिस्ट भयो
निर्क्यौल यही रह्यो मेरो,
परन्तु थियो र त हरायो,
आखिर मध्य-शहर
पूजारीको मातहत बाटै
आखिर कहाँ गयो त
त्यो भगवान??
अनिकाल पर्छ अब यहाँ
रोग ब्याधिले सताउंछ
नागहरु निस्कन्छन्
मान्छे बहुलाउंछन्
अनेक तर्क बितर्क चल्न थाल्छ
चोक बजारहरुमा,
आधुनिक युवा अड्कल काट्छन्
सूनामी आउन सक्छ।

होइन, अब छिट्टै रुद्रभिशेक गर्नु पर्छ
अछुतहरुको हातमा परेको जस्तो लागेको छ मलाई
खरानी र अबिर पोतिएका स्वघोशित बाबाको तर्क थियो।
यो पूजारीलाई चार भञ्ज्याङ कटाउनु पर्छ
ब्रिद्ध ब्रिद्धाको सुझाब थियो,
दोश मन्दिर भएको स्थानको हो
अर्का धुरन्धर पन्डितको ठोकुवा थियो,

हेर्दा हेर्दै सिङ्गो शहर एकै ठाउँमा,
जहाँ
बरफ,चटपट पानीपुरी म:म:को बजार चल्छ
केहि क्षण त मान्छे भगवान बिर्सिन्छन्।
भेला चल्छ भद्र भलाद्ध्मीहरुको
बिशिस्ट पन्डितहरुको आगमन हुन्छ
गेरु बस्त्रका जोगीहरु
श्वेत बस्त्रका मेनका र उर्बशीहरु
नाङ्गाहरु,
आखिर निर्णय हुन्छ,
¨हरारेश्वर भगवान¨को मन्दिर बनाउने
हिमालयको माटो हिमालयकै पत्थर
पूरानो मन्दिर लाई दक्षिण पारेर,,

तर म अझै सोच्दै छु
आखिर कहाँ त्यो भगवान
किन खोज्दैनन् आज हराएको भगवान???

मन्दिर थपिदै छन्
भगवान हराएको हरायै छन् ।

श्रीभक्त पौडेल ‘आफन्त’
रचनाकाल २०१५ अप्रिल १५,

सान सेबास्टिअन,पाइस भास्को स्पेन

Total Page Visits: - Today Page Visits:
Shares