काठमाडौं :-  वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो ।

नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो ।
स्रष्टाद्वय डा.मोदनाथ प्रश्रित र दीनानाथ शर्माले दुबोको माला लगाएर शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गर्नु भएको थियो ।
साथै जोशीको ९९ औं शुभजन्मोत्सवका अवसरमा नइबाट उहाँलाई शुभकामना अर्पण गरिएको थियो ।

समारोहमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले तीन लाख रुपिया राशि र ताम्रपत्र सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ जर्मनीका प्रा.डा.मानफ्रेद गेहार्द थ्रोईलाई समर्पण गर्नुभयो ।

CC8B7BA4-6859-4F96-9236-F1917C50DB32-300x265 सत्यमोहन जोशीको ९९ औं जन्मदिनमा २२ जना साहित्यकार पुरस्कृत ।

नेपाली संस्कृति, इतिहास र भाषासाहित्यको श्रीवृद्धिका लागि साढे तीन दशकअघिदेखि समर्पित रहँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति डा.थ्रोईलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार विदेशी मूलका नागरिकलाई मात्र प्रदान गरिन्छ ।

त्यसै गरी सनातन हिन्दूधर्म, संस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ ।

नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा संलग्न हुनुका साथै भ्रष्टाचार विरोधी अभियानमा समेत अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका निम्ति भरत जङ्गमलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण भएको छ ।

त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै आख्यान, नाटक र निबन्ध लेखनका क्षेत्रमा विशिष्ट प्रयोगशील योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति आख्यान पुरुष डा.धु्रवचन्द गौतमलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ ।

गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाउन उल्लेखनीय योगदान गर्नुका साथै तत्कालीन समयमा वृत्तचित्र र समाचार चित्रहरूमा सर्वोत्कृष्ट उद्घोषणद्वारा जनमन छुन सफल किरण खरेललाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिएको छ ।

CC8B7BA4-6859-4F96-9236-F1917C50DB32-300x265 सत्यमोहन जोशीको ९९ औं जन्मदिनमा २२ जना साहित्यकार पुरस्कृत ।

नेपालबाहिर रहेर नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित इजरायलकी भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो ।

यी पाँचैवटा पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।

समारोहमा ताम्रपत्र सहित ९ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।

संस्कृतिका लागि चितवनका नलराज शास्त्री नेपाललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, समालोचनाका क्षेत्रमा प्रा.ठाकुर पराजुलीलाई ‘नइ ईश्वर बराल पुरस्कार, साहित्यकार डा.महेश्वर शर्मालाई ‘नइ खरा प्रसिद्धि पुरस्कार’, नारी साहित्यका लागि रेवती राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ र चित्रकलातर्फ केके कर्माचार्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरियो ।

त्यसै गरी गीतकार विश्ववल्लभलाई ‘नइ कोइलीदेवी पुरस्कार’, काठमाडौं बाहिरकी नारी स्रष्टा नवलपरासीका कृष्णदेवी शर्मा श्रेष्ठलाई ‘नइ बुलु शर्मा पुरस्कार’, तेस्रो लिङ्गी रुपन्देहीका आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ र प्रथम नारी सरोद वादक रूपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ समर्पण गरिएको थियो ।

साथै समाजसेवा, श्रव्यदृश्य र नाट्यसङ्गीतका लागि डा.परिधि शर्मालाई २५ हजार रूपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ समर्पण गरियो ।

नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष सम्मका ३ जना बालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेको छ । यसरी पुरस्कृत हुनुहुनेहरूमा बहुआयामिकतर्फ रिहाना भट्टराई, साहित्यतर्पm एञ्जेलिना न्यौपाने, नृत्य तथा गायनतर्पm स्वन्ति श्रेष्ठ रहेका छन् ।

१० वर्ष उमेर समूहका रुनीष सुनुवारलाई नृत्य तथा सगुन श्रेष्ठलाई गायनका लागि ताम्रपत्रका साथ ७ हजार रूपियाँ राशि सहित ‘नइ देरुनीखपु कोपिला पुरस्कार’ समर्पण गरियो ।

त्यसै गरेर ५ वर्र्षीय स्निग्धा देवकोटालाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित ‘नइ देरुनीखपु चिचिला पुरस्कार’ समर्पण गरिएको छ ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जर्मनीका प्रा.डा.मानफ्रेद गेहार्द थ्रोई, संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकाल र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

समारोहमा इन्दिरा प्रसाईबाट कविता समेत वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा कविता वाचन, नृत्य र गायन प्रस्तुत गरिएको थियो । संस्थाका सदस्यसचिव नरेन्द्रराज प्रसाई द्वारा जारि बिज्ञप्तीमा जनाइएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares