भानु तिमी* *फेरी **जन्मिदै छौ रे*
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर ,काठमाडौँ
भानु तिमी यस धर्तीमा जन्मिदै छौ रे सुन्दैछु
नेपाल आमाको गर्भबाट नै भनेर दिन गन्दैछु !
स्वागत छ तिमीलाई यस धर्तीमा फेरी आउनुपर्छ
आफ्नै अस्तित्व अनि स्वाभिमानमा रमाउनुपर्छ !
जन्मदा होसियारी हुनु अब छैन प्यारो अलकापुरी
सोचेजस्तो छैन फेरी हाम्रो कान्तिपुरी नगरी !!
कुवा खन्ने ठाउँ छैन, दिलदार छैनन् घांसीपनी
परिवारको लालनपोषणमा नै अलमलिए रे उनी !!
आपत पार्यो नेपालीलाई थामेन बोझ पृथ्बीले
तहस नहस भयो क्षणभरमै हाहाकार बिपत्तीले
मठ मन्दिर भत्किए भगवानको उजाडियो बास
बालबच्चा,युवा, बृद्ध सबको मनमा फैलीयो त्रास
हरियाली छैन अब कंक्रिट बन्दैछन् सुन्दर सहर
हिमाल पहाड तराई खोलानाला हुदैछन् बगर !
तिमीले जगाएका राष्ट्रभाषा भुल्दैछन् छैन शुद्धपनी
जन्मिनु पर्छ तिमी फेरी साथै भगवान बुद्धपनी !!
बिर्सिसके कतिले त आजकल को हुन् भानु भनि
पश्चिमी हावाले छोयो सबैलाई आत्मा हुन्छ ग्लानी !
तिम्रा शालिकहरु पनि फोडीदैछन् छैन कसैको भर
छैनन् शितल चौतारी रोपिरहेछन आकाशे घर !!
तिम्रा कविता गुञ्जिन छाडे बुझ्दैनन् भाषा पनि
ज्ञान दिने श्री कृष्ण बाजे फर्केनन् कहिल्यै पनि !
तिमीलाई आदिकवि बनाउने मोतिराम कहाँ छन्
खोज्नु पर्छ हामी सबै मिली अब उनि जहाँ छन् !!
रम्नुपर्छ अब हामीले यो अस्त व्यस्त शहरमा
छर्नुपर्छ बिगतका कहानी फेरी सबको नजरमा !
नहिच्कीचाउ कत्तिपनि न्याउरो रुप नेपालको हेरी
बनाऊनु पर्छ एकजुट भइ हाम्रो कान्तिपुरी नगरी !!