बिनायक अधिकारी :- नेपाल भन्दा बाहिर रहेर पनि नेपाली साहित्यमा कलम चलाउनेहरुको संख्या कम छैन, त्यसो त नेपाली भाषालाइ मनैमा बोकेर हिड्नेहरुसंग साहित्य जोडीएकै हुन्छ । नेपाली भाषा साहित्यसंगै नेपाली गजललाइ मन पराउनेको संख्या झनै ठुलो छ । यसै ठुलो संख्याको एउटा भाग अष्ट्रेलियामा छ जुन समूह गजल लेख्न बाचन गर्न र गजलमै झुम्न रमॉंउछन् । यसै सिलसीलामा सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको सम्पूर्ण गजल कार्यक्रम “गजल मुशायरा” को पाँचौ श्रृंखला “गजल मुशायरा २०१८” आगामी २३ सेप्टेम्बर आइतबारका दिन गजल मुशायरा परिवारको आयोजनामा र बाबा एजुकेशन कन्सल्टेन्सीको टाइटल स्पोन्सरसिपमा सिड्नी हर्स्टभिल स्थित सिभिक थिएटरमा आयोजना हुँदैछ ।
अष्ट्रेलियाको सिड्नीमा मात्रै नभइ सिड्नी बाहिर ब्रिसबेनमा सन २०१७ मा र एडिलेडमा सन २०१८ मा पनि १/१ कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन । “गजल मुशायरा परिवार” ले यी कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।”गजल मुशायरा परिवार” बिश्वभरि छरिएर रहेका गजलप्रेमीहरुको एउटा संजाल हो, जस्ले गजल मुशायराका हरेक कृयाकलापहरुको व्यबस्थापन गर्दै यिनलाई गतिशीलता दिने काम गर्दै आएको छ । यसको संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहदै आएका गजलकार जितेन्द्र मल्लले गरेका छन्।
यस्ता लोकप्रिय कार्यक्रमले सर्जकहरुलाई गजल लेखनमा प्रोत्साहन, गजल सुन्ने/सुनाउने परिपाटीको विकास, नेपाली गजललाई बढी भन्दा बढी पाठक/श्रोता/दर्शक सम्म पुर्याउने; र गजलकारहरु बिच आपसी समन्वय र सद्भाव कायम गर्ने काम भने पक्कै गरेको छ ।
‘गजल मुशायरामा गजलकारहरु मात्र स्टेजमा जान्छन किनकि यो गजल कार्यक्रम हो।’ यो अन्य समाजमा भइरहने कार्यक्रम भन्दा बिलकुलै फरक छ, आयोजक मध्येका एक सुरेन्द्र दवाडीले भने । हाल विश्वका विभिन्नठाउँमा गरिने नेपाली गजल कार्यक्रमहरु गजल मुशायारा कै मोडेलमा गर्ने गरिन्छ। गजल मुशायरा एउटा ट्रेन्ड कायम गर्ने कार्यक्रम बनेकोमा हामी धेरै खुशी छौं। ‘ कार्यक्रमका संयोजक जितेन्द्र मल्लले बताए । यसमा भुगोलको दुरि भन्दा भाषाको माया समेटिएको छ त्यसैले नेपाली भाषी भुटानी साथीहरु पनि यस कार्यक्रममा अटाएका छन्, अल्बेरी निवासी भूटानी नेपाली गजलकार तथा गजल मुशायराका अभियन्ता दुर्गा रिमालले बताए ।
गजल मुशायरा परिवारका सदस्यहरू अहिले मलेशिया, कतार, युएई, अमेरिका, नेपाल लगायतका देशहरूमा सकृय हुनुहुन्छ । यस अर्थमा एउटा बिशेष संरचनामा संचालन हुने यो कार्यक्रम बिश्वब्यापी अभियानको रुपमा स्थापित हुने क्रममा रहेको छ । जुलाई २०१७ देखी गजल मुशायराको फेसबूक पेज (www.facebook.com/ghazalmushayara) मा शुरु गरिएको ‘गजल मुशायरा लाइभ’ ले विश्वभरि छरिएर रहेका नेपाली गजल सर्जकहरुलाई लाईभ प्रस्तुत गरिरहेको छ । सबैबाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको यो जमर्कोले एक बर्ष पुरा गरि सक्दा चौध देशमा छरिएर रहनुभएका करिब ८० जना सर्जकहरु फेसबूक लाईभमा प्रस्तुत भैसक्नु भएको छ र यो क्रम जारी छ ।
गजल मुशायराको यो पाँचौ श्रृंखला एउटा बिशेष श्रृंखला हुनेछ, जसमा अस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले २/२ वटा गरी ५० वटा गजल बाचन गर्नु हुनेछ ।गजल मुशायरा २०१८ मा सहभागीहुने गजलकारहरुमा सिड्नीबाट गणेश गौतम, गणेश कंडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श कार्की, ऒमकार अधिकारी, र बिष्णु प्रसाद अधिकारी, बौरल, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, मकाई, क्विन्सल्याण्डबाट सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमला रहेका छन् ।
कार्यक्रममा गजल बाचनको अतिरिक्त निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जि. सि. को गजल नृत्य एबम निशान ढकाल रियाजको गजल गायन पनि समाबेश गरिएको छ । सुरेन्द्र दवाडी र रामकान्त न्यौपानेको सञ्चालन रहने यस कार्यक्रममा सहभागी भै गजल बाचन, गायन र नृत्यको मज्जा लिनुका साथै नेपाली गजलको प्रबर्धन गर्ने हाम्रो सानो प्रयासमा सहभागी भैदिनुहुन गजल मुशायरा परिवार सबैमा सादर अनुरोध गर्दछ ।
![[Tags] F8AAC399-CDF8-45B2-83C1-980E5BF655F5-213x300 लोकप्रिय कार्यक्रम गजल मुशायरा हुदै : पच्चीस गजलकार एउटै थलोमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/F8AAC399-CDF8-45B2-83C1-980E5BF655F5.jpeg?resize=213%2C300&ssl=1)