अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा विविध कार्यक्रमहरू गरी अष्ट्रेलियाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । हिजो ७ जनवरी २०२० का दिन बिहान ११ बजे सिड्नी शहरको प्रमुख पर्यटकीय केन्द्र‘सर्कुलर की’ मा यस राजदूतावासद्वारा न्यु साउथ वेल्सका लागि अवैतनिक नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रममार्फत नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले अष्ट्रेलियाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गर्नुभयो ।
उक्त कार्यक्रममा न्यु साउथवेल्स राज्यका संसदका सभामुख मा. जोनाथन ओडी, पूर्व प्रिमियर मा. नेथन रिज, अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारीहरू, स्थानीय अष्ट्रेलियन नागरिकहरू, नेपाली समुदायका प्रतिनिधिहरू, पत्रकार र अष्ट्रेलियामा रहेका नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक उद्घााटनपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश कुमार भट्टरार्इले अष्ट्रेलियामा आगलागीले पुर्यापएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आगलागीमा ज्यान गुमाउनेहरूका परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको धनी नेपालमा सबै खाले पर्यटकका लागि पर्यटकीय गन्तव्यहरू रहेको रनेपाल सरकारद्वारा पर्यटन पूर्वाधारको विकासमा जोड दिइएको जानकारी दिँदै अष्ट्रेलियन नागरिकहरूलार्इ नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो । साथै, माननीय मन्त्रीज्यूले गैरआवासीय नेपाली संघका प्रतिनिधिहरू एवं अष्ट्रेलियामा ठूलो संख्यामा रहेका नेपाली डायस्पोरालार्इ नेपाल सरकारको यस अभियानमा सहयोग गर्न हार्दिक अनुरोधसमेत गर्नुभयो । उक्त अवसरमा बोल्दै न्यु साउथवेल्स राज्यका संसदका सभामुख मा. जोनाथन ओडी र पूर्व प्रिमियरमा. नेथन रिजले नेपाल र अष्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहेको र यस सम्बन्धलार्इ अझ प्रभावकारी बनाउन यहाँ रहेका नेपालीहरूले विशेष भूमिका खेलेको बताउनुभयो । मा. नेथन रिजले आफू यसै वर्ष मार्च महिनामा नेपाल भ्रमण गर्न लागेको र उक्त भ्रमणप्रति निकै उत्साहित रहेको उल्लेख गर्दै उपस्थित सहभागीहरूलार्इ पनि नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको औपचारिक समापनपछि सर्कुलर किबाट ओपेराहाउससम्म पैदलयात्रा गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको थियो ।
त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भको अवसरमा सोही साँझ नेपाल भ्रमण वर्ष २०२० का विविध पक्षहरूको बारेमा जानकारी दिने उद्धेश्यले न्यु साउथवेल्स राज्यको संसद भवनमा एक कार्यक्रमकोआयोजना गरिएको थियो । उक्त कार्यक्रममा विशेष मन्तव्य राख्नुहुँदै संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री माननीय योगेश कुमार भट्टरार्इले पर्यटक भित्र्याउन मात्र नभई उनीहरूको नेपाल बसाइलाई अझ सुरक्षित र आरामदायी बनाउन जोड दिइएको उल्लेख गर्नुभयो । आगामी मे महिनाबाट लुम्बिनी विमानस्थल सञ्चालनमा आउने र अर्को वर्षसम्म पोखरा विमानस्थल पनि सञ्चालनमा आउने जानकारी दिँदै सहभागीहरूलार्इ आफू पनि नेपाल भ्रमण गर्न र आफ्ना साथीभाइहरूलार्इ पनि नेपाल भ्रमणका लागि प्रेरित गर्न अनुरोध गर्नुभयो । माननीय मन्त्रीज्यूले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको उल्लेख गर्दै सीधा हवाई उडानका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै अष्ट्रेलिया सरकारका पूर्व अध्यागमनमन्त्री मा. फिलिप रडकले नेपाल र अष्ट्रेलियाबीच सुमधुर सम्बन्ध रही आएको र नेपाललार्इ आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहेको भनार्इ राख्नुभयो । त्यस्तै, अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका सहायक सचिव श्री पल वोजेक्सीले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध ६० औं वर्षसम्म आइपुग्दा अझ मजबुत र धेरै क्षेत्रमा फैलिनुका साथै हालका दिनमा नेपालबाट अष्ट्रेलिया आउने र अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकको संख्या बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा मिस अष्ट्रेलिया २००७, क्यारोलिन पेम्बर्टन र ५० पटकभन्दा बढी नेपाल भ्रमण गरेका क्रिस वाकरले नेपाल भ्रमणको आफ्नो सुखद अनुभव सेयर गर्नुभएको थियो । उक्त अवसरमा शब्दमाला नेपाली पाठशालाका बालबालिकाहरू र अन्य कलाकारहरूले सांस्कृतिक परेड एवं नेपाली नृत्यहरू प्रस्तुत गरेका थिए ।

BAC7C739-C303-45C0-97AF-183BB8309643-1024x576 पर्यटन मन्त्री योगेश भट्टराइद्वारा भ्रमण बर्षको सिड्नीमा उद्घाटन ।


राजदूतावासद्वारा न्यु साउथ वेल्सका लागि अवैतनिक नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा आयोजित सो कार्यक्रममा अष्ट्रेलियाका पूर्व अध्यागमनमन्त्री मा. फिलिप रडक, न्यु साउथ वेल्स राज्यका प्रिमियर नेथान रिज, न्यु साउथ वेल्स लेजिस्लेटिभ काउन्सिलका पूर्व सदस्य मा. हेनरी साङ्ग र मा. हेलेन साम हो, सिड्नी शहरका काउन्सिलर रबर्ट कक, अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका सहायक सचिव पल वोजेस्की तथा दक्षिण एसिया शाखाका निर्देशक फियोना म्याक्ग्रिउ, अष्ट्रेलियन हिमालय फाउन्डेशनका अक्ष्यक्ष साइमन बाल्स्टनलगायत अष्ट्रेलियन सरकारका उच्चपदस्थ अधिकारीहरू, अष्ट्रेलियाका विभिन्न राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूतहरू एवं ठूलो संख्यामा अष्ट्रेलियन व्यवसायी, ट्राभल एण्ड टुर्स अपरेटरहरू, पत्रकार र नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो ।

स्रोत: नेपाली राजदूतावास

Total Page Visits: - Today Page Visits:
Shares