मेरो कपुरी क सम्वाददाता; कोरिया :- १५३ औँ मोती जयन्तीको अवसरमा कोरियामा बृहत् कार्यक्रम हुने भएको छ । अनेसास कोरियाको आयोजनामा सम्पन्न हुन लागेको सो कार्यक्रममा कोरियावासी नेपाली सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नेछन् ।

नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक राष्ट्रिय विभूति मोतीराम भट्टको १५३औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल गजलकार र होनहार प्रतिभा भट्टले समस्यापूर्ति कविताहरूको अभ्यासमा जोड दिएका थिए । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

१५३ औँ मोती जयन्ती तथा बृहत् रचना वाचन कार्यक्रमका संयोजक गोपीकृष्ण लामिछानेले कोरियाजस्तो अति व्यस्त देशमा रहेर पनि नेपाली भाषासाहित्यमा कलम चलाउने युवाहरु प्रशस्त रहेको र विषेश गरी गजल धेरै फस्टाएको जनाए । त्यसै गरी अनेसास कोरियाको प्रस्तुतिमा गजल एल्बम नै तयार पारेको र अब छिट्टै नै विमोचन हुने संस्थाका अध्यक्ष प्रमोद सारंगले बताएका छन् ।

कार्यक्रममा कोरिया च्याप्टरले हरेक बर्ष प्रदान गर्दै आएको “अनेसास कोरिया संगीत सम्मान” यसपालि युवा गायक रमेश सङ्रौलालाई दिने भएको छ । अनेसास कोरिया संगीत सम्मानबाट यसअघि गायक राज सिग्देल, संगीतकार डी. आर अटु, सि पि मगरलगायत सम्मानित हुनुभएको थियो । मोती जयन्तीकै अवसरमा अनेसास कोरिया च्याप्टरले आजीवन तथा साधारण सदस्यता प्रदान गर्ने भएको छ ।

सेप्टेम्बर २३ तारिख शुभेच्छा होटलको सभाहलमा हुने सो कार्यक्रममा काव्य-सुधाका विगतका शृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले दमदार रचनाहरुको स्वाद लिन पाउने आयोजकको दाबी छ । च्याप्टरले यसअघि कविता वाचन, गजल वाचन, मुक्तक वाचन कार्यक्रमलगायत ‘देवकोटा जयन्ती’, ‘भानु जयन्ती’जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

Z कोरियामा १५३ औं मोती जयन्ती तथा बृहत् रचना बाचनको भब्य तयारी

Total Page Visits: 2536 - Today Page Visits: 1
Shares