छन्द: पंचचामर छन्द
रचनाकार: स्पन्दन बिनोद
म शान गर्छु वीरझैँ, अदम्य शक्ति जन्मिएँ
अशक्त औ अन्यायको, बिरूद्ध लड्न लम्किएँ
म दिन्छु ज्यान लोकमा, हुँदैन दोष आडको
म शक्ति हूँ बिचार हूँ , म शील हूँ पहाडको ।।१।।
म रक्त हूँ अचम्मको, स्वदेशमा बिदेशमा
बहन्छु आँतका कुला, डटेर सास सासमा
जवान देश देशको, म माथ आलिशान हूँ
सधैँ सपार्छु राष्ट्र यो, म शैन्य कै समान हूँ ।।२।।
ध्वजा म हेर श्वप्नको , पुरूष नारि जातको
किसानका गरीबका, म हौसला जमातको
पिएर मातृशक्ति यो, गरौ सधैँ हिफाजत
बनेन कर्म देशमा, भने हुनेछ आहत ।।३।।
सहीदका दिवारमा, म रक्त देख्छु घाउको
गरेर श्वप्न पूर्ण त्यो, म टिप्छु नेल पाउको
समान दृष्टि होस् सधैँ, चरित्र शुद्ध माग्दछु
म देउता म कामना, स्वयम् म नाम जप्दछु ।।४।।
म ढाल देशको सही, न शत्रु सामु झुक्दछु
प्रकाशपुन्ज मार्ग हूँ, न डर्छु औ न लुक्दछु
हिमाल के पहाड के, तराइ के समान हो
घुलेर सिन्धु बागमा, म त्यै पराग ज्यान हो ।।५।।
म भ्रष्टको खिलाप हूँ, न घूसखोर पाल्दछु
बनी सपूत देशको, म रामनाम टाल्दछु
न चोर हुन्छ चोरझै, न साधु हुन्छ साधुझैँ
न बढ्छ भाउ तेलको, म भेट्छु मोल आँशुकै ।।६।।