कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ।
संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। होम आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भएमा यी कुराहरुमा ध्यान दिनुहोस् ।
-थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।
-पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।
-भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।
-अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ९ एन्टिभाइरल र एन्टिबायोटिक ० खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।
-अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि नखानु होला ।
-मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।
-घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।
-पानीको बाफ लिने ।
-रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।
-हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।
-नआत्तिनुहोला ।
स्रोत : नेपालन्यूज