काठमाडौं । एमालेबाट विभाजित भएर नयाँ दलका लागि सनाखत गर्न चन्द्रागिरि रिसोर्टमा जम्मा भएका नेपाल पक्षीय केन्द्रीय सदस्यहरूलाई माधवकुमार नेपालले एमाले कम्युनिष्ट पार्टी नरहेको घोषणा गरेका छन् । साँझ आफू निकटका नेताहरूलाई नयाँ दलको घोषणापत्र, विधान तथा राजनीतिक प्रतिवेदन अध्ययन गरेर सुझाव दिन आग्रह गर्दै नेपालले एमालेबाट विभाजित हुनुको कारण बताएका थिए ।

उनले एमालेको नेतृत्व पूर्णतः दक्षिणपन्थी भासमा गएको जनाउँदै एमाले केपी शर्मा ओलीको प्राइभेट कम्पनीजस्तो भएको बताएका थिए । 
एमाले विभाजित गरेर नेकपा (एकीकृत समाजवादी) बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्व तयारी बैठक राखेर उनले संक्षिप्त धारणा राखेका थिए । नयाँ दलका गठनको पूर्व सन्ध्यामा रामकुमारी झाँक्री र किशान श्रेष्ठले चन्द्रागिरीमा व्यवस्थापन गरेका थिए ।
निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरूलाई नेपालले सोमबार राति ब्रिफिङ गर्दै एमालेसँगको एकताको ढोका भने बन्द नहुने पनि बताएका थिए । उनले एमालेका अध्यक्षले अपराध गरे भन्दैमा सबैले अपराध नगरेको र भोलिका दिन अन्य साथीहरू सच्चिएमा पार्टी एकता हुनसक्ने पनि उनले बताएका थिए । ‘अहिलेलाई यति भनौँ एकताको सबै ढोका खुला छन् तर ओली सच्चिनुपर्छ’, नेपालको भनाइलाई उद्धृत गर्दै त्यहाँबाट एक केन्द्रीय सदस्यले भने । 
नेता नेपालले पार्टीको घोषणापत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरूलाई वितरण गरेका थिए । त्यस क्रममा उनले आफैँले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरेका हुन् । 
केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नयाँ बन्ने दलको घोषणा पत्र, राजनीतिक प्रतिवेदन कस्तो हुने भन्नेबारेमा सबै केन्द्रीय सदस्यको धारणा बुझ्न चन्द्रागिरि गएको बताए । ‘यसमा अन्यथा मान्नुपर्ने अवस्था छैन नयाँ दलको राजनीतिक कार्यदिशाबारे छलफल हुनेछ’, उनले भने । 
नेपाल पक्षले बुधवार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरूलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेपछि ओलीले पनि मङ्गलवार स्थायी कमिटीको बैठक राखेर २०७५ जेठ २ अघि रहेको पार्टीको सबै संरचना व्युँताउने भएका छन् ।
नेपाल पक्षलाई बहुमत नपुगोस् भनेर ओलीले एमालेको पुरानो संरचना व्युँताउन लागेका हुन् । तर माधव नेपालले भने ओलीको दाउपेचमा नपर्न सबैलाई आग्रह गरेका छन् । ‘ओलीले नयाँ जाल फ्याकेका हुन त्यसमा हाम्रा केही साथीहरू फस्नेछन्’, नेपालले चन्द्रागिरीको भेलालाई सम्बोधन गर्दै भनेका थिए । 
मध्यमार्गी भनिएका नेताहरू भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल लगायतले असार २७ गतेको गरेको १० बुँदे सहमति कार्यान्वयन भएको अवस्थामा कुनै पनि समस्या नहुने बताएका छन् । १० बुँदा कार्यान्वयनको मोडालिटीमा समस्या आएको अवस्थामा के हुन्छ भन्ने सन्दर्भमा त्यति बेला नै टुङ्ग्याउने बताएका छन् । पार्टीभित्र देखा परेको अन्तर विरोधको समाधानका लागि नेकपा एमालेभित्रको शक्ति सङ्घर्षको प्रतिविम्बका रूपमा १० बुँदे सहमति भएको उनीहरूको बुझाई छ । 
शक्ति सन्तुलन, शक्ति सङ्घर्षको समाधानका रूपमा १० बुँदे सहमति भएको हो । यसको सम्पूर्ण हिसाबले प्रभावकारी कार्यान्वयन भएको अवस्थामा एकता चाहने पङ्क्ति नेकपा एमालेमा एकताबद्ध गर्नेतिरै जिम्मेवारीपूर्ण भूमिका खेल्छ त्यसमा कुनै शङ्का नभएको उनीहरूको धारणा छ ।

स्रोत : हाम्रा कुरा डट कम

फोटो साभार : गुगल

Total Page Visits: 658 - Today Page Visits: 2
Shares