काठमाडौँ  ।  नेपाली काँग्रेस भित्रको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्दा मनोमानी गरेको आरोप लगाएको छ । 

महामन्त्री डा. शशाङ्क कोइरालाको निवास महाराजगन्जमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले सभापति देउवाले मन्त्री छान्न र महाधिवेशन अन्तर्गत वडा अधिवेशनको प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यतामा मनोमानी गरेको आरोप लगाएको हो । 
सो समूहले नेता डा. नारायण खड्कालाई पार्टी भित्र कुनै छलफल नै नगरी मन्त्री बनाइएको, मन्त्रीपरिषद् विस्तारमा पार्टी भित्र छलफल नगरेको र वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि आफ्नो समूहको विमति हुँदा हुँदै कुनै परामर्श नगरिएको भनेको हो । 

‘पार्टी भित्र कुनै छलफल नै नगरी मन्त्री बनाइन्छ, वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि हाम्रो प्रस्ट विमति हुँदा हुँदै कुनै परामर्श गरिएको छैन, सभापतिले एकलौटी रूपमा मनोमानी गर्दै अघि बढे, यो राम्रो सङ्केत होइन, काँग्रेस भित्र यस्तो चल्दैन,’ बैठकमा सहभागी एक नेताले हाम्रा कुरासँग भने । 
बैठकमा देउवाको कार्यशैलीलाई लिएर अधिकांश नेताले आक्रोश पोखेका छन् । उनीहरूले पदाधिकारी बैठकमा एक भएर प्रस्तुत हुने निष्कर्षसमेत निकालेका छन् । 
बैठकमा डडेलधुरा वडा अधिवेशनका विषयमा असहमति हुँदाहुँदै एकतर्फी रूपमा अधिवेशन गरिएको बारेमा समेत नेताहरूले धारणा राखेका थिए । 
यसै गरी पुनः १३ जिल्लामा अधिवेशन नभएको निहुँमा सबै तहका अधिवेशनमा मनोमानी गर्न खोजिएको भन्दै सो समूहले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ । १३ जिल्लाको क्रियाशील सदस्यताका सम्बन्धमा संस्थापन पक्षले नै किचलो गरेको पौडेल पक्षको आरोप छ । 
अहिले काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा पदाधिकारी बैठक जारी छ । बैठकमा काँग्रेसका तर्फबाट मन्त्री हुनेहरूको नाम तय गर्ने बताइन्छ । यस्तै महाधिवेशनका मितिका विषयमा पनि छलफल हुने छ । 
सरकारमा काँग्रेसका तर्फबाट अहिलेसम्म तीन मन्त्री र एक राज्यमन्त्री गरी चार मन्त्री छन् । आजै मात्र डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो । हालसम्म गुटगत रूपमा काँग्रेसबाट देउवा निकटका नेताहरूलाई मात्रै मन्त्री बनाइएको छ ।

हाम्राकुरामा खवर छ ।

Total Page Visits: 924 - Today Page Visits: 2
Shares