साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले र डा लम्सालकी ६ बर्षीया नातिनि आयराले संयुक्त रुपमा उक्त महाकाव्यको लोकार्पण गर्नुभएको हो । मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ । कार्यक्रममा अतिथिहरुले पुस्तकमाथि समिक्षा गर्नुभएको थियो ।
अन्ततः आज अग्नि सार्वजनिक भयो । उपस्थित भएर वा उपस्थित हुन नसक्ता पनि हार्दिक शुभेच्छा पठाएर मलाई उत्साही बनाइदिनुहुने तपाईँ सबैसबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । जीवन कुनै गणित होइन जो दुईमा दुई जोड्दा ठ्याक्कै चार होस् तर जीवन गणितहीन पनि होइन, हुँदै होइन । तपाईँको सद्भाव मेरा लागि अगणित छ ।
अग्नि मेरो २० वर्षको प्रतीक्षा हो । एक पटक पढेर प्रतिक्रिया पाऊँ । बाँकी त म जे छु तपाईँहरूकै मायाको कारणले छु । यो माया बचाइराख्न सकूँ र अक्षर र आवाजमा मिसिएर समाजका लागि केही गर्न सकूँ, यही अपेक्षा छ ।फेरि एक पटक सबैलाई धन्यवाद लम्सालले भन्नुभयो ।
![[Tags] 66F2CD58-8243-4811-B767-9AF097FA21A7-1024x564 साहित्यकार डा. लम्सालको ‘अग्नि’ सार्बजनिक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/10/66F2CD58-8243-4811-B767-9AF097FA21A7.jpeg?resize=640%2C353&ssl=1)
कर्णमा सीमान्तकृत कर्णको नायकत्व, धरामा देशको बहुलता र बहुलतामै उठेको राष्ट्रिय चिन्तन तथा अग्निमा देखापरेको उच्च मानवतावाद उनीभित्र क्रमशः क्रमशः बढ्दै आएको लेखकीय उत्कर्ष मान्न सकिन्छ । अग्नि उनको लामो अध्ययन, अनुभव र अनुसन्धानको जगमा उभिएको निकै बौद्धिक र तार्किक तर भाषा र अभिव्यक्तिका हिसाबले कोमल र सम्प्रेष्य महाकाव्य हो ।
विभिन्न धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक तर्क र तथ्यसहित मानव मर्यादाका लागि यसमा गहिरो आग्रह गरिएको छ । कर्ण महाकाव्य २०६६ र धरा महाकाव्य २०७३ का अतिरिक्त उनका अन्य ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङग्रह प्रकाशित छन् । अग्नि लम्सालको आठौं कृति हो । यो महाकाव्यलाई बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।