लेखक : आनन्द पौडेल

घर घर जस्तो होस, यसमा जति पबित्र सम्बन्ध कहीं कतै पाईंदँन । धनीको घर, गरीबको घर, कलाकारको घर, नेताको घर, कर्मचारीको घर, फूसको घर, ऐलानीको घर, स्वामित्व प्राप्ति सहितको घर, हाउजिङका फ्लाट, ब्यवसायिको घर सबैसँग मानिसको लगाव असाध्यै रहेको हुन्छ । घाम पानीबाट सुरक्षा दिने, पारिवारिक मिलन गराउने, दुःख बिसाउने आरामस्थल घर हो । यसलाई ब्यक्तिगत उपलब्धिको गर्व नाप्ने मापक, जीवनको लक्ष्य खातिर मोडने प्रेरक र छिमेकीसँगको सम्बन्ध जोडने सूत्रस्थलका रूपमा लिनसकिन्छ ।

बालककालमा भाडाको कोठा होस् वा दरवार होस्, गाउँको झुपडी होस् वा देहाती फूसको छाना होस् । सबै उसको लागि कुनै महत्वका रहँदैनन । बा, आमा, जी बा, जी आमा सबै माया गर्नेहरूका काख घर समान हुन्छन । आफ्नो स्वार्थ नभएका ती उमेरहरूमा घर एउटा अमूर्त संरचना मात्र हो, जहाँ सम्बन्धहरू नै पर्याप्त रहने गर्दछन् । यहाँबाट नै मानिसका हुर्काइ, बढाई, खेलाई, बुनाई, बुझाई आदि सिकिएका हुन्छन् । र, त बालककालमा साथिहरूसंग भाडाकुटी खेल्नु, बिवाहका डोलिमा दुलाहा दुलही सजिनु, खाना खाएपछि माटोको प्रयोग गरि पानीले चुठनु, वालुवाको पुल बनाउनु जस्ता झण्डै वास्तविक जीवनका अभ्यासहरू गरिएका हुन्थे । बालसुलभ कच्चा माटोमा सत्यम्, शिवम्, सुन्दरम् भावहरू स्वार्थरहित उद्घाटित भएका हुन्छन्, घरको वातावरणमा ।

बिवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र, सामाजिक तथा कानूनी बन्धन हो । पारम्परिक सामाजिक संरचना हो । एकल परिवारको संरचनामा बृद्धि भएपश्चात उहिले भन्दा आजकल यसैलाई घरको पर्यायवाची मान्नेहरूको संख्या बढेको छ । कर्मको आधार, सुखको आधार, प्रकृतिको सुन्दर संरचना, जीवन प्रगतिका लागि केही छटपटी, हुटहुटी रहने यस पद्दतिमा घर निर्माणका कैयौं पूर्वाधारहरू निर्माण हुन्छन् । त्यसकारण पति र पत्निको संयूज्यतालाई घर भन्नसकिन्छ ।

पहाडी जीवनका घुमाउने घरहरू, गोठ घरहरू, टिन पाताले छाइएका घरहरू, खर वा फूसका घरहरू, ढुंङगा र माटोका खपटाले छाइएका घरहरू प्रायःजसो पाखा र पखेराहरूमा निर्माण भएका छन । स्थानीय सामग्रीहरूद्वारा निर्मित्त यी संरचनाहरू घाममुखे पाइन्छन । ती पूर्व, पश्चिम, दक्षिण अर्थात् चारैदिशातिर उन्मुख छन । खुला आकाश, स्वच्छ हावा, उदाउँदा सूर्यका किरणहरू, हरियो जङ्गल, कलकल बगेका झरना र खोल्सीहरू, मीठो पानीको सामिप्यता पहाडी घरहरू सार्थक बनाउने साधनहरू हुन । यसैले ती घरहरू सम्मोहक वस्तीहरूको समुच्चय र सुन्दरतम संरचना हो । पानीको सुविधा, विद्युतको सुविधा, विद्यालयको सुविधा, बाटोधाटोको सुविधा बढदै गएका छन । अर्थात् आधुनिक सुविधा बढदै गएको पक्कै छ । तर स्वास्थ्य सुविधाको अभाव, मानव वस्ती पातलिएको कारण खेतीपातिमा जङ्गली जीवजन्तुको आक्रमण, प्रकृति र मानव द्वन्दमा बृद्धिले फेरी पनि पहाडी जीवनका घरहरू बनझर बन्दैछन ।

त्यसैगरि तराईका घरहरू पनि स्थानीय निर्माण सामग्रीहरूद्वारा निर्माण भएका हुन्छन । फुसको छाना, काँचो ईटाको बुनौट भएका घरहरू प्रशस्तै छन । तर आजकल केही पक्की घरका संरचनाहरूमा बृद्धि भएको छ । घर वरिपरिका आँपका बोटहरू, भूईकटहरका बोटहरू, लिची जस्ता मीठा स्वादिला फलफूलहरू, तोरीबारी, धानझुल्ने फाँटहरू, मानिसका लागि आवतजावतका साधनहरूले सुसज्जित छन, तराईका वस्तीहरू । बहुधा ती घरहरू दक्षिणको हावाहुरी सहन गर्ने तरिकाले बनेका हुन्छन । अन्नपूर्णतर्फ फर्केका उच्च हिमाली श्रृंखला हेरिरहेजस्तो लाग्छ, तिनीहरूले । यद्यपि, मानव विकासमा पछाडि परेका सामाजिक संरचना, शोषण दमनका प्रथाहरूले तराईमा पनि मानव वस्तीहरूको विकल्प खोजिदैंछ । जङ्गली जनावरको आक्रमण उस्तै कहालीलाग्दो छ ।

जब हामी मायावी शहर काठमाण्डौं शहरमा प्रवेश गर्छौ । व्यक्तिका इच्छा आकांक्षाहरूमा असिमित बदलाव देखिंदै जान्छन । आलिशान भवन, दरवार, धरहरासँगै हाउजिङ जस्तै सपनाहरू आकाशिन थाल्छन । गौथलीका गुँडहरू, खोका आकारका धन्सार, कलात्मक घुमाउने घरहरू महत्वहीन लाग्न थाल्छन । आनामा ठडिएका, दायावाँया टांसिएका र कुचुक्क परेका किन नहुन् ती घरहरूमा मानिसको रूचि कहिल्यै घटेको छैन । बढेको बढयै छ । उज्यालो अभाव, घरको दायाबाँया बन्द बनाइएका ती संरचनाहरू स्वच्छन्दता बिरोधी छन । बाहिरी डिजाइनमा उति खुल्न नसकेको, भित्री डिजाइनमा लागि पर्याप्त स्थानाभाव भएको पीडा हुन्छ, मानिसहरूमा । यसका लागि चार पाँच तले घर बन्दै जान्छन । आवश्यकता भन्दा महत्वाकाँक्षाले समान्तर प्रतिष्पर्धा भैरहेको हुन्छ । तर पनि यो कङक्रिट जङगल प्रतिको मोहनी कसैलाई छुटेको देखिएन ।

त्यस्तो साधुरो संरचनाले विस्तारै मानिसलाई रोपनीमा बनेको घर आवश्यकता हुँदै जान्छ । यस्ता नवनिर्मित घरहरूबाट रानी बन सजिलै देख्न सकियोस, शिवपुरी जङगलको दृश्यावलोकन गर्न पाइयोस, फूलचोकी र नगरकोटका दृश्यपान गर्नसकियोस, हुन्छ । जसका लागि कौशीको बनौट त्यस्तै प्रकारको हुनुपर्छ । बनाइन्छ पनि । यसका लागि वैध भन्दा पनि अवैध बाटोहरूको खोजी हुँदै जान्छ । यस्ता कार्यहरूले घर न्यूनतम आवश्यकता भित्र रहन सक्दैन यो त विलासिताको प्रकारमा रूपान्तरण हुँदै जान्छ । आचरण र नैतिकताको बिरूद्ध त्यसता घरहरू बनेको थाहापाउन मर्नु पर्दैन ।

पढछ, जागिर खान्छ, व्यापार व्यवसाय गर्छ । पश्चात् उसको लक्ष्य घर एक उद्देश्य रहन्छ । पहिले जग्गा भए पुग्छ, योजनावद्ध शहरी विकास र निकास दुबै हेरिदैंन । संयोगले त्यस्तो स्थान अन्यत्रभन्दा सहङगो पनि हुन्छ । केन्द्रको महत्ब भएकोले मानिसहरू गाउँ देहात फर्कन सक्दैनन । जब हैसियत बढछ, मोटरसाइकल जाने भन्दा पनि गाडि जाने ठाउँ चाहिन्छ । यसमा दमकल जाने आउने ठाउँसम्म चाहिदै जान्छ । सुरक्षित, एकलकांटे र सुन्दर हाउजिङ खोजी हुँदै जान्छ ।
हो, घर एउटा सपना हो, जो बनेपछि मान्छे उपलब्धिले आल्हादित हुन्छ । सम्पूर्ण जीवनको प्राप्तिको तीन चौथाई भन्दा बढी उर्जा यसैमा खर्च हुन्छ । सपत्नि, सन्तान र पारिवारिक जीवनको सुरक्षाकवच घर व्यक्तिको लागि सबैभन्दा ठूलो आकांक्षा पनि हो । छिमेकी बन्नु, बनाउनु, रमाउनुमा घरको औचित्य रहन्छ । मेल नखानेहरूका लागि यस्ता सम्बन्धहरू खासै सम्झनयोग्य रहदैंनन् । लेनदेनको रमाइलो सम्बन्ध हुन्छ, त्यहाँ । त्यसैका लागि दौडिरहन्छ, मानिस । अतृप्त सपना भएकाहरू थप सपना बुन्छन र घर निर्माणको ईच्छा सूचि बढदै जान्छ ।

बैदेशिक रोजगारीमा गएकाहरू त्यहाँको बैयत्तिक घर र सो प्रयोजनको लागि बनाएका घरहरूको बारेमा जस्तो मानसिक तयारी गर्दछन् । त्यस्तो तयारी नेपालमा फर्केपछि काम नलाग्ने हुन्छ । बेलायतका घरका छानाहरू नमस्कार मुद्राका हिउँ फाल्ने प्रकारका छन । त्यहाँका व्यक्तिगत घरहरू साढे दुइतल्लाभन्दा बढी पाइन्नन । सरकारी नियन्त्रण बलियो छ । जापानमा समेत भूकम्प प्रतिरोधि संरचनाका कारण यस्तै सामान्य घरहरू रूचिका छन । एकनाशका त्यस्ता बस्तीहरू आफैंले समानताको वकालत गर्दछन । एकल परिवारका लागि त्यो आकार, परिमाण र डिजाइन पर्याप्त हुनसक्छन् । कहीं भूईतल्ला भएका घरहरूलाई पर्याप्त सुविधामा केन्द्रित गरी घरलाई धेरै महत्व दिइदैन् । कहीं मान, सम्मान मापकको आधार मानेर यसैलाई सिंगार्नुमा जीवनको सबै उर्जा समाप्त हुन्छ । मान्यता आ–आफ्नै ।

हिन्दु सामाजिक जीवनमा इहलोकसंगै परलोक हुंदा बस्ने घरको परिकल्पना गरिन्छ । यो नितान्त कल्पना भएपनि अस्विकार गर्ने हिम्मत कसैमा देखिएको छैन । बैकुण्ठ धाममा राम्रो स्थान बनाउन, दुःख नपाउन र शान्तिसंग बस्नका लागि यस लोकमा परोपकारका कामहरु गर्ने प्रचलन पनि रहिआएको छ । अर्थात् स्वर्गको घर निर्माणको काम पनि यही मत्र्यलोकको जीवनबाट शुरू भएको हुन्छ ।
अंश र बंशको मान्यता भएकाहरूलाई घर एक निर्जीब शान हो ।

तर पश्चिमा एकल परिवार र घुम्ती घर भएका व्यक्तिहरूलाई घर हुनुभन्दा नहुनु राम्रो हो । कति त घरलाई बन्धनका रूपमा परिभाषित गर्दछन् । घरको महिमा जति गाएपनि जोगी, बेरोजगारी, घुमन्ते, फिरन्ते, सन्यासी जीवन भएका, कुनै जिम्मेवारी नभएकाहरूलाई घरको महत्व सुमेरू पर्वत बराबर छैन । राजनीतिक दलका मुखियाहरूले दलको घर परिवर्तन गर्दा धोका खाएका छन् । दुवई शहर झैं अग्लिएका पैसाका राजकुमारहरूले र गरिबी निबारणका ठेकेदारहरूले भूईमान्छेका घरलाई कुल्चिएर अगाडि बढन सक्छन, गरिबी हटाउने नाममा । समुन्दी किनारामा बस्तीमा त्यहाँ त नरिवलका पात आकारका घरका संरचनाहरूले निलो समुन्द्रसँग संवाद गर्दछन् । टापुका घर, समुन्द्री किनाराका घरको सुन्दरता र आकर्षणको चर्चा यसमा अटाउन सकिन्न । त्यसैगरि, घरको आकार सानो भएपनि हिमाली भीर बस्तिहरूको सन्तुष्टिलाई पनि ब्याख्या गर्नसकिन्न । यसप्रकार, ईच्छा सूचिका घरहरूको मनोवादले मानिसलाई चिन्ता र चितामा पुर्याउन सक्छन । तपाईले कस्तो घर बनाउनुभयो‚ कुन्नी ।

Total Page Visits: 1486 - Today Page Visits: 1
Shares