काठमाडौं । महानगरीय प्रहरी वृत दरबारमार्गको ‘लकर’ बाटै थुनुवाको गरगहना हराएको छ ।

गत चैत २२ गते जमलको सेतोढोकाबाट पक्राउ परेका युवराज लामा र रोजन बस्नेतको सुन र चाँदीका गहना हराएपछि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ । वृतकै प्रहरी निरीक्षक बसन्त आचार्यको नेतृत्वमा गठन गरिएको समितिमा सई एकराज खड्का, मुद्दा शाखाका असई प्रेम शर्मा, हवल्दार वीरबहादुर सुनार र प्रहरी जवान मोहन बुढाथोकी सदस्य छन् ।

२२ गते पक्राउ परेका लामा र बस्नेतको साथबाट प्रहरीले मोबाइल, घडी, पर्स, बेल्ट, औँठी २ थान, सुनको सिक्री र चाँदीको सिक्री कागज गरेर लकरमा राखेको थियो ।  प्रहरीले पक्राउ गरेपछि उनीहरुको साथमा रहेको समान हस्ताक्षर गरेर आफुले राख्ने प्रचलन छ ।

 मुद्दाको किनारा लागेपछि उनीहरुको वैध समान फिर्ता दिइन्छ । एक होटलमा म्यानेजरको रुपमा काम गर्दे आएका उनीहरुलाई बढी बिलिङको आरोपमा पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाइएपनि उनीहरु वैशाख ३ गते नै छुटेका थिए ।

छुटेपछि आफ्नो सामान लिन जाँदा सुन र चाँदीका गहना सिक्री र व्रासलेट नभेटिएपछि उनीहरुले प्रहरीसँग सामान माग गरेका थिए । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी दानबहादुर मल्लले घटना स्वीकार गर्दै २२ गते ड्युटीमा रहेकाहरुले हराएको सामानको क्षतिपूर्ति दिन तयार भइसकेको बताए । छानबिन समितिले प्रतिवेदन दिएको र प्रतिवेदनका आधारमा आफु अगाडी बढेको मल्लको भनाई छ । बाह्रखरिमा समाचार छ।

Total Page Visits: 1194 - Today Page Visits: 1
Shares