काँकडभिट्टामा बिहीबार राति आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ । मेचीनगर नगरपालिका–६ को साठीबीघा भन्ने ठाउँमा आगलागी भएको हो । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी र दमकलले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको हनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागी भएको स्थान काँकडभिट्टा बजारको बधशाला क्षेत्रमा पर्दछ । आर्थिक स्थिति न्यून भएका केही सर्वसाधारण मेचीनगर नगरपालिकाको उक्त जग्गामा स–साना घर बनाएर वार्षिक रुपमा भाडा तिरेर बस्दै आएका थिए । स्थानीयबासीका अनुसार साँझ साढे ७ बजे आगो लाग्न सुरु भएको थियो । आगो छविलाल आङ्देम्बेको घरबाट फैलिएको प्रहरीले जनाएको छ । नजिकै मेचीनगर नगरपालिकाको कार्यालयमा २ वटा दमकल रहे पनि आगो निभाउनका लागि समयमै पुग्न सकेन ।
आगो लागेको थाहा पाएर भारततर्फका मानिस आइपुग्दा समेत दमकल भने पुगेको थिएन । आगोले धमाधम सिलिन्डर ग्यासहरु पड्किन थालेपछि मात्र आधा पानी लिएर एउटा दमकल पुगेको स्थानीय गोमा दर्जीले बताइन् । ‘एउटा दमकल बिग्रेको रहेछ, अर्कोमा पानी नै रहेनछ,’ स्थानीय सावित्रा लिम्बूले भनिन्, ‘आगो लागेको आधा घण्टापछि आधा ट्यांकी मात्र पानी लिएर मेचीनगरको दमकल आयो, त्यो पानी एकैछिनमा सकियो ।’ त्यसक्रममा स्थानीयबासी दमकलका चालक र कर्मचारीप्रति निकै आक्रोशित भएका थिए । स्थानीयको आक्रोशबाट दमकल जोगाउन प्रहरीलाई हम्मे–हम्मे परेको थियो ।
लगत्तै बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल पुगेर आगो निभाउन सुरु गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले बताए । तर, आगो निभाउँदासम्ममा सबै घर खरानी भइसकेका थिए । डिएसपी थापाका अनुसार त्यस क्षेत्रमा साँझदेखि नै विद्युत सेवा अवरुद्ध थियो । विद्युत नभएका बेला आङ्देम्बेको घरमा बालेको मैनबत्ती ग्यासको पाइपमा सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
‘राति होहल्ला सुनेर हामी निस्कँदा आगैआगो थियो, आगोले धमाधम सिलिन्डर ग्याँसहरु पड्किन थाले, हामी छेउमा जानै सकेनौँ,’ स्थानीयबासी वेदनिधी प्याकुरेलले भने, ‘यहाँ बसेकाहरुले आफूले लगाएको लुगाबाहेक घरभित्रको केही नै सामान जोगाउन सकेनन्, धन्न साँझै थियो र कोही निदाएका थिएनन्, नत्र मानवीय क्षतिसमेत हुन सक्थ्यो ।’ सीमा क्षेत्रमा पर्ने यस स्थानका बासिन्दा कोही यातायातमा मजदुरी गर्छन्, कोही वारिपारि सामान ओसार्ने काम गरेर परिवार पाल्दै आएका थिए ।
आगलागीमा घर जलेपछि बिचल्लीमा परेका उनीहरु छरछिमेक र आफन्तको शरणमा पुगेका छन् । शुक्रबार रेडक्रसले आगलागी पीडितहरुलाई कपडा, कम्बल, बाल्टी, टेन्ट लगायत राहत वितरण गरेको छ । आगलागीबाट दिनेश लिम्बू र केहन श्रेष्ठको घरमा सामान्य क्षति भएको छ । नयॉं पत्रिकामा खवर छ ।