स्पन्दन बिनोद

शिर्षक:अष्ट्रेलियाको आगो
छन्द: शार्दूलबिक्रीडित
रचना: स्पन्दन बिनोद

आँखामा छ सधैं हिया डर बनी, जल्दै गयो योवन
आगोको बिजुलो पिएर थलियो, अष्ट्रेलियाको वन
हूरी दक्षिण चल्छ राप यसरी, बाँकी रहेनन् नव
कंगारू घरमा बले ईमस नै, के जन्तु के मानव ।।१।।

मोरूया अनि सोलहावन हुँदै, आगो सुसायो अति
कोआलाज बने सिकार कठैं, लाखौं छ त्यस्को क्षति
त्यो न्यू साउथ वेल्सले प्रसवमा, पीडा नदेखाउला
जल्दै छन् जिवितै जनावर चरा, भिक्टोरियाका चुला ।।२।।

के वल्लाबिज वम्बब्याट बिचरा, के फ्याउरा स्याल हुन्
धूँवासाथ बिषाध गन्ध भयको, खाना भयो कार्वन
होमिन्छन् सब एकएक यसरी, रोए कराए मरे
आगो लास सुताउँदैछ पथमा, सीमा दयाका फुटे ।।३।।

चिन्ता शोक बिलापले ह्रृदयमा, अष्ट्रेलिया ध्वस्त छ
निन्द्रामा चुर जीव जन्तुसित त्यो, डढ्दै धरा मस्त छ
टाढाबाट बगेर आँशु सकियो, रूक्दैन दन्केर ऊ
आमाबा परिवार डढ्न सकिए, जल्दैछ तन्केर ऊ ।।४।।

मान्छेले सुख होस् भनेर वनमा, बाँध्यो नि रेखांकन
भाग्दा ज्यान लिने र छट्पटि दिने, यै तारको बन्धन
फोटो खिच्न यहाँ गरे रमिता, यो हात देखिन्न र
कैयौ लास छ लामबद्ध यसले, छाती दरालिन्न र ।।५।।

उड्दै खस्छ चरी अपांग पनि भो, साना बचेरा मरे
ब्याट्म्यान्स ब्रिजबाट पश्चिम दिशा, फैलेर डढ्दै गए
घोडा बाघ मुनाल सिंह चितुवा, कंगारु भेडा किवी
सारा सृष्टि बिनास गर्न सुरियो, काप्यो चितामा सिटी ।।६।।

गर्दै यत्न निभाउने दमकलै, पस्यौ कि आगो तिर
लाग्यो प्यास जली सरीर यसरी, पानी नि छैन् आखिर
छैन् आहार हराभरा न छ कतै, टेक्ने कहाँ पाउ हो
यस्तो ठाउँ जुधेर आउछ भने, साँच्चै उहाँ बाउ हो ।।७।।

द्यौता पत्थर भित्र प्राण भरिदे, देखेर ऊ मौन छ
माटो पोल्छ सरीर थप्छ रमिता, त्यो रूख नै गौण छ
हावामा चल हेलिकप्टर तिमी, फोटो खिचेरै बस
कस्ले सुन्छ गुहार लास जनको, कार्वोन मात्रै धस ।।८।।

निन्द्रामा महिनौ बिते अब उठे, बाँकी छ के के भनी
आगो बिश्वभरी बनोस् खलबली, अष्ट्रेलियाको सरी
चोटै चोट छ घाउको र मृतुको, निस्तेज यो घाम छ
के बस्ती वन के जनावर सबै, भाक्छन् कहाँ राम छ ।।९।।

तिम्रो दु:ख यहाँ प्रगाढ मुटुमा, जल्दै खरानी भयो
हाहाकार छ सायद प्रलयको, आँखा नि पानी भयो
जस्लाई नि बिपत्ति पर्छ यसरी, आशा नतोडौ जुटौं
मुठ्ठी एक गरौ बुनेर सपना, साझा र फेरी उठौं ।।१०।।

फोटो : गुगल

Total Page Visits: - Today Page Visits:
Shares