शारदा निशा
छोरी हुन् जगकी सधैँ चहकिली तारा बनेकी पनि
छोरी हुन् जगकी समस्त जनकी देवी भनेकी पनि
छोरी हुन् घरकी दियो सरहकी छर्छिन् उज्यालो अनि
पार्छिन् है यिनले प्रसन्न मन यो साँच्चै दियालो बनी ।।१
छोरी हुन् बहिनी दिदी र भतिजी नाता हजारौँ छ नि
साँच्ची हुन् अझ यी सबैकि जननी भान्जी बुहारी पनि
बज्यै हुन् पछिकी अनेक रुपकी नाता भरीमा धनी
छोरी कै रुपमा म जन्मन पुगेँ साँच्चै खुशी छू म नि ।।२।।
छोरी कै भरमा समस्त जग यी चर्खा सरी घुम्दछन्
छोरी कै अनुसार पुज्य जनले गन्तव्य ती चुम्दछन्
आफ्नै कारण इष्टमित्र भरिमा नाता र गोता छरी
झन् सम्बन्ध रहन्छ कायम अझै छुट्दै नछुट्ने गरी ।।३।।
नाताकी मुल हुन् समाज भरि कै छोरी बुहारी सबै
नाताकी पुल हुन् अवश्य उनले सम्बन्ध छर्छिन् सधै
फुल्छिन् फूल बनेर यो भुवनमा सम्बन्धका खातिर
झन् चल्दैन उनी विना भुवन यो ठूली उनै आखिर ।।४।।
छर्छिन् मन्द सुवास झन् उनले आफन्तका माझमा
बाल्छिन् दीपक झन् सदैव उनले राम्रो गरी साँझमा
छोरी नै रहने हरेक मुटुमा साँच्चै नि आफ्नो बनी
छोरी कै रुपमा म जन्मन पुगेँ ज्यादै खुशी छूँ म नि ।।५।।