काठमाडौँ । नेपालले ३ खेलमा २ जित निकाल्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढेको छ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने ।

आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

पारस म्यान अफ द म्याच भए ।

नेपालले यसअघि नामिबियालाई हराउँदा ओमनसंग पराजित भएको थियो ।

नेपालले चौथो खेलमा सोमबार केन्यासंग खेल्नेछ ।

६ टिमले सहभागिता जनाएको प्रतियोगितामा क्यानडा तीन खेलमै जित हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकबाट दोस्रो स्थानमा छ ।

केन्यालाई पराजित गर्न सके थप सुरक्षित हुने थियो ।

शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउने छन् ।

स्रोत : हाम्रा कुरा

फोटो : गुगल

Total Page Visits: 1290 - Today Page Visits: 1
Shares