अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (सुगर) बाहेक धूम्रपान, मद्यपानको अधिक सेवन, शारीरिक व्यायामको कमी, तनावग्रस्त जीवनशैली एवं धेरै मात्रामा तारिएको, पोलेको, भुटेको खानेकुराको सेवनका साथै जंक फुड, चिल्लो पदार्थ तथा गुलियो पदार्थको सेवनले मोटोपन निम्त्याउँछ। जसले गर्दा युवा उमेरमै मुटुको समस्याले पिरोल्न थाल्छ।
मुटुको समस्या मात्र नभई शारीरिक तौललाई सन्तुलित राख्न सकेको खण्डमा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, कोलस्टेरोल, नशा, आँखा, मिर्गौलाको समस्या जस्ता थुप्रै खाले नसर्ने प्रकारका रोगबाट बच्न सकिन्छ। मोटोपन आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो। विकसित मुलुक तथा कतिपय विकासोन्मुख देशमा जस्तै दक्षिण एसियामा पनि मोटोपनको समस्या बढ्दो छ।


मानव शरीरको लम्बाइ र शारीरिक संरचनाअनुसार शरीरको तौल हुनुपर्छ। आफ्नो शरीरको तौल ठिक्कको छ÷छैन थाहा पाउने सरल तरिका बडी मास इन्डेक्स (बीएमआई) नै हो। शरीरको तौल (किलोग्राम) लाई शरीरको उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा निस्किने योगफल नै बीएमआई हो। यदि शरीरको तौल तथा उचाइको हिसाब गर्दा ३० किग्रा प्रति वर्ग मिटरभन्दा बढी भएमा मोटोपनको समस्या भएको बुझिन्छ। अर्को तरिकाअनुसार सेन्टिमिटर स्केलबाट आफ्नो शरीरको उचाइमा सय घटाउँदा आउने शेष आफ्ना लागि सही तौल हुन्छ।


बीएमआईको आधारमा शारीरिक तौलको वर्गीकरण गर्दा बीएमआई २९.९ भन्दा बढी हुनु हुँदैन। सामान्य बीएमआई भएकाले पनि दैनिक करिब आधा घण्टा व्यायाम गर्दा केही बिग्रँदैन। १८.५ देखि २४.९ सम्म सामान्य, २५ देखि २९.९ सम्म बढी तौल, ३० भन्दा माथि मोटो व्यक्तिका रूपमा वर्गीकृत गरिन्छ। त्यसो त १८.५ भन्दा कम हुनु पनि राम्रो मानिँदैन।


कति तौललाई अधिक मान्ने र कहिलेदेखि तौल घटाउन थाल्ने भन्ने सवालमा बीएमआईका साथै कम्मरको घेराको नापलाई पनि उत्तिकै ध्यान दिनुपर्छ। यदि महिलाको कम्मरको घेरा ३२ इन्च र पुरुषको कम्मरको घेरा ३५.६ इन्चभन्दा कम छ भने चिन्ता लिनुपर्दैन। 


कम्मरभन्दा माथिको भाग मोटो हुनु र कम्मरभन्दा मुनि मोटोपन हुने गरी दुई खालको मोटोपनमध्ये पेटमा बोसो लाग्ने खालको मोटोपन अर्थात् स्याउ आकारको मोटोपन (पहिलो खाले मोटोपन) बढी हानिकारक हुन्छ। अनुभवी चिकित्सकका अनुसार पेटको आकारभन्दा पुट्ठाको आकार ठूलो हुनु राम्रो हुन्छ। धूम्रपान गर्ने व्यक्तिमा धेरैजसो स्याउ आकारको मोटोपन विकास हुन्छ। 


मोटोपनको मुख्य कारण

कम व्यायाम र स्थिर दैनिकी मोटोपनको मुख्य कारण हुन् भने असन्तुलित भोजन तथा मानसिक तनावका साथै गर्भावस्थादेखि नवजात शिशु अवस्थाको मोटोपन पछि गएर युवावस्था तथा प्रौढ अवस्था पुग्दा पनि रहिरहन्छ। यस्तै गरी सानै उमेरदेखि फास्टफुड, जंक फुड, गुलिया खानाको सेवनलगायत अभिभावकको करकापले बढ्ता खाने बच्चामा मोटोपनको समस्या भएको पाइन्छ। 


खानाको सेवन तथा शरीरमा उसको खपतबीच सन्तुलन मिलेन भने मोटोपन देखिनेमा दुई मत छैन। तर, मद्यपान सँगै तारिएका, भुटेका, बोसोयुक्त तथा जंक÷फास्टफुड स्न्याक्सका रूपमा खाने बानी र मद्यपानबाट पनि मोटोपनको समस्या उब्जिन्छ। मम, चाउमिन, फ्राइड फुडलगायत फास्टफुडका कारण मोटोपन सजिलै विकसित हुन्छ।


त्यसमाथि रिमोट कन्ट्रोल समाई टेलिभिजन सेट अगाडि थ्याच्च बसेर खाना खाने बानीका साथै दिनभरि भोकै बस्नै अनि बिहान–बेलुका चाहिँ एकै पटक टन्नै खाने बानी भएर पनि पछिल्लो समय नेपालमा मोटोपनको समस्या देखिन थालको छ। त्यसमाथि गहुँको रोटी, मकैका परिकार तथा सागसब्जीलाई त हाम्रो खाने मेनुबाट निकै अगाडि हटाइसक्यौँ। 


जे होस् सामान्य बीएमआई भएकामा मधुमेह लाग्दैन। सुगर पनि नियन्त्रणमा आउँछ। रक्तचाप पनि नियन्त्रणमा आउँछ। मुटुका रोग तथा पक्षघातका समस्याबाट बचिन्छ। कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा ल्याउँछ। महिलामा पाठेघर, स्तन तथा पुरुषमा प्रोस्टेट जस्ता कतिपय क्यान्सर लाग्दैनन्। समग्रमा सन्तुलित तौलले आयु बढ्नुका साथै वास्तविक उमेरभन्दा जवान देखिन पनि मद्दत गर्दछ।


यसरी गरौं मोटोपनको व्यवस्थापन
पोषण शिक्षा, व्यवहारमा परिवर्तन, खाना नियन्त्रण तथा शारीरिक अभ्यासलाई लिएर गर्भपूर्व नै सल्लाह परामर्श दिनुपर्दछ। मोटोपन भएकै व्यक्तिमा पनि रक्तअल्पता र कतिपय भिटामिनको कमी हुनसक्छ। लिफ्टको सट्टा भर्‍याङ चढ्ने, मुटुको चाल २५ प्रतिशतले बढ्ने गरी छिटो–छिटो हिँड्ने, नाच्ने, घरको सरसफाइ अनि लुगा धुने, करेसाबारीका काममा सक्रिय हुने, साइकल चढ्ने गर्नुपर्दछ। यदि कोलस्ट्रोल कम गर्ने अनि सुगर नियन्त्रणमा ल्याउने हो भने कम्तीमा एक घण्टाजति व्यायाम गर्नुपर्छ। सुस्त गतिको मर्निङवाक अनि त्यसलगत्तै अधिक चिल्लोयुक्त खानेकुरा सहितको चियापानले पनि फाइदा गर्दैन।


युरोपलगायत विकसित देशमा जहिले पनि जुनसुकै परिकार सर्भ गर्नुअघि सलाद तथा सागपात सर्भ गर्छन्। त्यस्तै, खानामा गेडागुडी, सागपात, फलपूmललाई पनि उत्तिकै स्थान दिनुपर्छ। तारिएका, भुटेका खाना कम खाने, फलपूmल र सागपातमा बढी खानुपर्छ। टुसाएको तथा रेशादार खानामा जोड दिनुपर्छ। व्रत बस्ने तथा डाइटिङ गर्ने बानीले उल्टो असर हुनसक्छ। लामो अन्तरालमा खाने बानीभन्दा पनि पटक–पटक तर थोरथोरै खाइराख्ने बानी राम्रो हो। हतारेर होइन चबाइ–चबाइ स्वाद लिई खाने बानी बसाल्नुपर्छ। 


दैनिकजसो भन्दा कहिलेकाहीँ स्वाद फेर्न मात्र फास्टफुड एवं जंक फुडको सेवन गर्ने गरौँ। ब्लडप्रेसर तथा मुटुको धड्कनको नियमित जाँचका साथै रगतमा कोलेस्ट्रोल, सुगर लगायतको जाँच गराउनुपर्छ। आवश्यक परेमा ईसीजी त्यसपछि समस्या हेरीकन इकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्ट एवं एम्बुलेटरी ब्लडप्रेसरको जाँचको गराउनुपर्छ। शरीरको उचाइअनुसार तौल नियन्त्रणमा राख्नुपर्छ। सम्पूर्णमा खवर छ ।
 फोटो : गुगल ।

Total Page Visits: 1615 - Today Page Visits: 2
Shares