उसले भर्खरै पाएको छ यौटा पदको श्रीपेच
र तेसैमा उभिएर अग्लो ठान्दैछ आफूलाई
विर्सिएर आफू उभिएको धरातल
डुक्रिरहेछ असनको सॉंढे झैं
मैमत्त बहुलाईरहेछ
मानौं तिघ्रामा डामेर छोडिएको
उसको नीलो डामले
उन्मत्त हुन लाइसेन्स पाएको हो
त्यो पदको श्रीपेच –
जस्लाइ पहिरिएर निस्फिक्री
फाड्न पाउनेछ सारा बस्ती

उसलाइ डाम्ने उसकै मालिक हो
जसले कानमा शंखघंट बजाएर उसलाई आदेश दिएको छ
र आफू चाही मस्त सुतेको बहाना गर्दैछ
साँढे गोरुले मालिकको आदेश पालना गर्दै
भखरै सडकको बिचोबीच उभिएर
एउटा अश्लील नृत्य प्रस्तुत गरेको छ

भन्छन् साँढे गोरु,साँढे गोरु हो
उसले अरुको बाली मिच्छ
उसले अरुको गोठको गाइ तुहाई दिन्छ
उसमा लज्जा वा मर्यादाको दायरा केहि पनि हुदैन

भन्छन् साढे गोरुसंग पौठे जोरी नखेल्नु
भन्छन् साँढे गोरुसंग तर्किनु
ओ सरकार ! साँढे गोरु त तँ भन्दा माथि हुँदैन होला
साँढे गोरु तुरुन्त नियन्त्रण गर्
नभए शोषकहरु साँढे गोरु निर्माण गर्दै
अरुको बाली -नाली बिगारी रहन्छन्
अरुको गोठ उजाड पारि रहन्छन्
तेरै राज्य सखाप पारि रहन्छन्

सानु घिमिरे
हाल – अस्ट्रेलिया

Total Page Visits: 1376 - Today Page Visits: 1
Shares