कविता 

 प्रणय दिवसमा तिमी र म 

                                               अनिता भण्डारी (पौडेल )

                                                    नंया बानेश्वर , काठमाडौँ 

आऊ प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं   

हातमा एउटा रातो गुलाब लुकाउदै 

अलिअलि लजाउदै अलिअलि फकाउदै 

बर्षौंदेखि साँचीएका मायाका पोका फुकाउदै 

मन भित्र संगालिएका यादहरुलाई पल्टाउदै 

 आऊ प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं 

सच्चा प्रेमको प्रस्ताब राखेर

मनभरी मायाको  बाधँ बाँधेर  

म तिम्रै हुँ प्रिय  भनिरहनुपर्दैन 

एक हातले ताली कहिल्यै बज्दैन 

आऊ  प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं     

चकलेटी स्वादमा मायाको मिठास  बोकेर 

बर्षौंदेखी गुम्सिएका भावनालाई पोखेर 

एक एक गरि स्वादिलो बनाऊ यथार्थमा 

तन मनमा स्वाद महसुश होस् उमंगमा 

आऊ  प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं     

अमूल्य हुन्छन तिमीले दिएका हरेक उपहारहरु 

चाहिदैन बहुमूल्य उपहार चाहिदैन हिराका हारहरु 

तिम्रा हरेक उपहारलाई प्रेमले सजाउनेछु 

तिमी मेरो बिश्वास हौ संसारलाई बताउनेछु 

आऊ  प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं       

बर्षौ पहिले हामी बीच भएका बाँचाहरुलाई 

दुवै मिली साकार पारौ हटाई बाधाहरूलाई 

हिड्न सिकाऊ यथार्थ जीवनको गोरेटोमा 

लर्बराउलान् पाइलाहरु भिर पाखा दोबाटोमा 

आऊ प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं       

सुन्न चाहन्छु दुइ मुटुको धड्कनलाई 

अंगालोमा कसेर शान्त गरौ आजलाई 

एकान्तमा सबै बिर्सिएर  सबै पिर व्यथा 

पोखौं दुई बिचमा रहेका मिठा कहानी र कथा 

आऊ  प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं       

बोल्न खोजेका तिम्रा आँखाका भावमा 

डुब्न देउ प्रिय मलाई विश्वासमा 

तिम्रा ओठका स्पर्शले चुप गराउदै 

चुमिदेउ प्रिय एकअर्कामा हराउदै 

आऊ प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं      

त्यो बैचेन दिल त्यो छटपट्टीलाई 

प्रेमका मिठा मिठा गीत गुनगुनाई 

शान्त र सुमधुर बनौ समर्पित भएर 

युगौयुगसम्म प्रणय शुत्रमा बाँधिएर  

सम्बन्ध सुमधुर र समन्वय बनाइयोस 

यस्तै गरि जुनी जुनी बिताउन पाइयोस 

आऊ  प्रिय मेरो सामिप्यमा आऊ

प्रणय दिवस धुमधामले मनाऔं

Total Page Visits: 1528 - Today Page Visits: 1
Shares