कमरेड तँपाई सँग त दुई तिहाई थियो,पाँच वर्ष थियो, किन किन्नु भएको बालुवाटार हतार हतारमा ।
गजलकार गणेश कँडेलले वाचन गरेका गजलका यस्तै शेरहरुले दर्शकदिर्घावाट निरन्तर वाहवाहि लुटिरह्यो । चौवीस जना गजलकारका दुई दुई वटा गजलहरुका यस्तै दमदार शेरहरुका साथ सिड्नीमा गजल मुशायराको एघारौ संस्करण भव्यताका साथ सम्पन्न भएको छ । । गजल मुशायराको एघारौ संस्करणलाई ईनोभेटिभ एसोसिएट्सको मुख्य प्रायाेजनमा गजल मुशायरा परिवारले प्रस्तुत गरेको हो । गजल मुशायराको एघारौ संस्करणमा अष्ट्रेलियाभरि तथा नेपालवाट आएका अतिथी गजलकार समेत चौबीस जना गजलकारले आफ्नो गजल वाचन गरेका थिए भने, गजल गायन र नृत्य समेत प्रस्तुत भएको कार्यक्रम संयोजक तथा मुशायरा परिवारका संस्थापक जितेन्द्र मल्लले जानकारी दिए । गजल मुशायरा परिवारले सन २०१४ देखी मोती जयन्तीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीबाट शुरु गरेको यो कार्यक्रम हालसम्म अष्ट्रेलियाको बिभिन्न शहर र अष्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी एघार वटा सफल संस्करणहरु प्रस्तुत गरेको छ ।
गजल मुशायराको एघारौ सिड्नी संस्करणमा नेपालबाट आएका अग्रज गजलकार ज्ञानुवाकर पौडेल र धनराज गिरीको विशेष गजल वाचन रहेको थियो । अन्य गजलकारहरुमा ब्रिसबेनबाट डा. केशव शर्मा, सिड्नीवाट शुशिल शर्मा सापकोटा, देव पाठक, विष्णु प्रसाद अधिकारी, सजल नयन, दिपक शर्मा, जितेन्द्र मल्ल, इश्वर पौडेल, आदर्श खत्री गणेश कँडेल, गणेश गौतम, शिवजी भण्डारी, रेखा न्यौपाने, सुस्मीता दाहाल, टंक रिजाल, सुमन पौडेल, राजिव तिमिल्सिना, श्रीजना थापा, तास्मानियाबाट पवित्रा शाम्वा, अल्वेरीवाट रिमेन आलोक र दुर्गा प्रसाद रिमाल, मेलवर्नबाट वीदुर कटुवाल, ले गजल वाचन गरेका थिए भने, निशान ढकाल रियाज र प्रदिप रानाभाटको गजल गायन र सिमोन श्रीपालीको गजल नृत्य रहेको थियो । कार्यक्रममा गायिका अन्जु पन्त, समाजसेवी इन्द्रा वन, ईनोभेटिभ एसोसिएट्सका प्रवन्ध निर्देशक डिला खरेल, एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सन्ध्या शाह, गैर आवासिय नेपाली संघ अष्ट्रोलियाका प्रतिनिधी, बिभिन्न बिधामा कलम चलाउनुहुने साहित्यकार, समाजसेवी लगायत सञ्चारकर्मिहरुको समेत उल्लेख्य सहभागिता थियो ।
उक्त कार्यक्रममा गजल मुशायरा परिवारले वजारमा ल्याउन लागिएको एघार जना गजलकारको संयुक्त गजल एल्बम एक एक एघारू को समेत केही टुक्रा गितहरु प्रस्तुत गरिएको गजलकार डा. केशव शर्माले जानकारी दिए ।
मुशायरा २०१९ प्रस्तुत भएका गजलकारका केही शेरहरु तल प्रस्तुत गरिएको छ ।
एकै रातले हुन्छ कि हजार रात मर्नुपर्छ
भनिदेउ न तिम्री हुन अरु के के गर्नुपर्छ (आदर्श खत्री)
बिबाह गरेर बिदेश गए मात्र पुग्छ पुरूषले।
श्रीमती हुन्छे आफ्नो जोवानी छीमेकीको हुन्छ। (रिमेन अालाेक)
चाहिन्न जून तारा चाहिन्न सून हीरा
प्रीतिले छोए तिम्ले फूल नै जुहार हुन्छ। (सजल नयन)
उ यतिकै मान्छे बनेको होईन,उसले रहरहरु बेचेको छ
राता लोहाले हात ,अनी चर्को घामले ढाड सेकेको छ (सुस्मीता दहाल)
साथी भाई यार बिर्सियो, घर परिवार बिर्सियो,
आरोप लगाईदिन्छन, परदेशिले मात्रीभुमीको आकार बिर्सियो (सुमन पौडेल)
यो कस्तो प्रेमको आयोजना गरिछौ तिमीले
उदघाटन नि हुनै नपाई समापन सुरू भयो (बिष्णु प्रसाद अधिकारी)
के गर्दा मशाला बन्छ दुई चार दिनलाइ,
त्यस्तै काण्ड छानी छानी गरिरहेछन (राजिब तिमल्सीना)
मुशायरा परिवारका अनुसार, गजल मुशायरा परिवारले गजल मुशायरा कार्यक्रमको अलवा अग्रज गजलकारहरुलाई सम्मानका साथै नयाँ सर्जकहरुलाई गजल तथा कविता लेखन सम्वन्धी अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने, मासिक, त्रैमासिक रुपमा साहित्यिक जमघटहरु गर्ने, अनौपचारीक सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ । मुशायरा परिवारले, सिड्नीको छैठाैँ तथा गजल मुशायराको एघारौ संस्करणमा सहभागीता जनाउनु हुने, प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग गरिदिनुहुने सबैजनालाई धन्यवाद ज्ञापन गरेको थियो ।
गजल मुशायरा परिवारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउन सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण बर्ष २०२० लेखिएको बिभिन्न ह्यासट्याग र आफ्नो प्रचार सामाग्रीहरुमा नेपाल भ्रमण बर्ष २०२० अंकित लोगो समेत प्रयोग गरेको मुशायरा परिवारका सदस्य ईश्वर पौडेलले वताए । एघारौ संस्करणलाई देश तथा विदेशमा रहेका बिभिन्न संघ संस्था, व्यवसायि तथा बिभिन्न संचारमाध्यमहरुले समेत सहयोग गरेका थिए । कार्यक्रममा प्रस्तुती दिने सवै सर्जकहरुलाई मायाको चिनो प्रदान गरिएकोे सुरेन्द्र दवाडीले जानकारी दिए । कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतीहरुलाई गजल मुशायरा परिवारको फेसबुक र युटुव च्यानल मार्फत प्रशारण गरिने आदर्श खत्रीले जानकारी दिए ।