वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन्ः

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकौं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरु थपिंदै जाउन् । यहॉंहरु सबैलाइ बड़ा दशैंको धेरै शुभकामना ।
हाम्रो पात्रो बाट ।

Total Page Visits: 896 - Today Page Visits: 1
Shares