कविता

यो धर्ति मेरो होइन

आज जुन धर्तिमा म उभिएकोछु
त्यो धर्ति मेरो होइन
आज जहाँ म, मेरो पसिना सिच्दैछु
त्यो खेत बारि पनि मेरो हुदै होइन ।

सुन्दर संसार बनाउने कल्पना भित्र
म कुरूप हुदैछु
चुचुरो फोर्न खोज्दा खोज्दै
म आफैं भासिदै पो छु ।

म सपनाको संसारमा

रंगिन तस्विर झै क्यानभासमा कैद छु 

र भोलिको सुनौलो आशामा

आजका यि रंगिन पलहरु म भित्रै मार्दैछु।

म केबल खुसिको अभिनय गर्दैछु,म भ्रममा पो पर्दैछु
आज म जुन धर्तिमा उभिएकोछु
त्यो धर्ति मेरो होइन
आफ्नो सोचि माया गर्दैछु
तर यि मेरा आफन्त हुदै होइनन् ।

परदेश पराईको पो ठाँऊ रहेछ
आफ्नो सोच्नु भ्रम पो रहेछ
म भित्र रहेको मेरो धर्तिको माया, म जान्दैछु अहिले
मेरी आमा तिम्रो स्थान कसैले पुरा गर्न सक्दैन
म बुझ्दैछु अहिले।

जहाँ म, मेरो पसिना सिच्दैछु
त्यो माटो मेरो होइन
यि मान्छेहरु मेरा होइनन्
यि वस्तुहरु मेरा हुदै होइनन् ।

यो त स्वार्थको संसार पो रैछ
यहाँ जे पनि झिलिमिलि चम्किलो देखिन्छ
तर भ्रममा नपर ,
यो हिरा होइन ।

यो धर्ति मेरो होइन
यो खेत बारि मेरो हुदै होइन
यो भिडमा म एक्लो छु
यि मान्छेहरु मेरा हुदै होइनन् ।
महत्ता घिमिरे चापागाईं
२०७५/०५/०१

Total Page Visits: 1882 - Today Page Visits: 1
Shares