चिकित्सकहरू रहर र आवेगले आन्दोलित भएका होइनन् । गोविन्द केसी अनशन बसेकै दिनदेखि हस्पिटलको सेवा बन्द भएको होइन ।
एउटा सत्याग्रही डाक्टरको अनशन २४औं दिनमा पुग्दासम्म पनि राज्यले सामान्य वार्ताको पहलसमेत नगरेपछि अन्य डाक्टरले गर्न सक्ने अन्तिम दबाब यही हो । यो सहकर्मी डाक्टरको जीवनरक्षाको निम्ति तिनको अन्तिम कसरत हो । गोविन्द केसीको ज्यान कुनै बेला पनि तलमाथि हुन सक्छ । चिकित्सकले २३ दिनसम्म सरकारले केही गरोस् र यो अप्रिय कदम उठाउनु नपरोस् भनेर पर्खेका होइनन् र ? आफ्नै सरोकारको विषयमा लडिहेका केसीको टुलुटुलु मृत्यु पर्खेर बस्ने ? के आन्दोलन, युद्ध, प्रदर्शन र अभियान कसैको पेवा हो ?
संवेदना र धैर्यको अभाव चिकित्सकमा होइन, सरकारमा देखिएको हो । हिजो एम्बुलेन्समा बम पड्काउनु पनि जायज हो भन्नेहरू नै चिकित्सकको आन्दोलन नाजायज हो भन्ने अवस्थामा आइपुग्नु पनि रोचक नै छ ।
एउटा आन्दोलनमा गरिएको सम्झौता पालना नभएपछि एउटा नैतिक अभियन्ताले के गर्छ ? फेरि आन्दोलन गर्नु उसको नैतिक दायित्व होइन ? केसीको अनशन पूर्ण नैतिक र इमान्दार देखिन्छ । सम्झौता पूरा गर्न यति कारणले सकिएन भनेर केसीलाई सम्झाउने दायित्व सरकारको होइन ? के एउटा नागरिक अभियन्ताको अनशनलाई सरकारले यसरी उपेक्षा गर्न मिल्छ ? केसीका माग़हरू व्यक्तिगत होइनन्, यही राज्यले बनाएको उच्चस्तरीय आयोगले दिएका सुझाबहरू हुन् ।
९५% मागहरू पूरा भएका छन् पनि भन्ने र केसीलाई माफिया पनि भन्ने ? के सरकारले माफियाको ९५% माग पूरा गरेको हो ?
मलाई पनि लागेको थियो, सरकारले संवेदनशीलतापूर्वक कुनै हल निकाल्नेछ र केसीलाई मनाउनेछ । यति आवेशपूर्वक लेख्नुपर्नेछैन । तर सरकारको आशय र रबैया केसी मरे मरून् भन्ने देखिएपछि गर्न सक्ने भनेको यही लेख्नेसम्म न हो । केसीको मृत्युले कम्तीमा नसरापोस् र पाप नलागोस् भनेर चिकित्सकहरू मन मारेर आन्दोलनमा उत्रिएका हुन् । मरिसकेपछि आन्दोलन गर्नुको के औचित्य रहन्छ र ?