कबिता
ढिलो भैसकेको छ संङ्गी
अबेर भैसकेको छ आमाहरु
विद्रोहका स्वर धेरै गुन्जिसके
हक र अधिकारका नारा
धेरै लागिसके
बिडम्बना
सिमित कागजी खोस्टोमा
सिमित परिधिभित्र
रमाईरहेका छौं हामी ।
धेरै गोष्ठि र सेमिनार भैसकेका छन्
हाम्रै कारुण तस्बिरहरु माथि ।
हाम्रा बिलौना बिलाई रहे
अस्तित्व माथि धावा बोलिरहे
तर बोलेन कहिल्यै शिंह दरबार
न त बोले जेनेभाका दस्ताबेजहरु नै
कतै अचानामा गिडिए हाम्रा शिरहरु
त कतै गोठमा रित्तिए हाम्रा खुन।
त्यसैले त आऔं
बोकेर जे जे छन् हाम्रो हातमा
हतियारहरु, कलमहरु
हंसियाहरु अनि डाडु र पन्युहरु
एक पृथक आयामिक क्रान्ति छेड्नु छ
तथाकतित नारी सर्बत्र पूज्यते लाई
परिमार्जित गर्दै
नारी मन्दिरमा होइन
घरमा पुजिनु पर्छ
परिवारमा पुजिनु पर्छ
समाज हुदै रास्ट्र अनि विश्वमा नै
पुजिनु पर्छ
नारीलाई भगवान बनाएर होईन
नारीलाई नारी नै बनाएर
पूजा होईन
इज्जत गर
फूल र अक्षता होईन
सम्मान चढाऊ
कमजोर छैनौ हामी नारी
चूरा पोते र सिन्दुरले
थोरै कमजोर त बनाएकै हो
र पनि
तोढ्न सक्ष्यम छौं
असिमित बिभेदका पर्खालहरु
असमानताका माखे साङ्गलाहरु
सैह्य कदापी हुने छैन
बाध्यताका सम्बन्धहरुलाई
पिल्सिएर आत्मसाथ गर्न ।
धेरै मनाई सक्यौ नारी दिवशहरु
धेरै फोडिए तारे होटलमा
स्याम्पिएनका बोत्तलहरु
रिवन काटिए, परेवा उँडाईए
तर रतिभर परिवर्तन भएनन्
हाम्रा जीवन पद्धतिहरुमा
लुटीई रह्यौं , तड्पी रह्यौ
दबाई रहे हाम्रा आवाजहरु,
त्यसैले त
नितान्त फरक क्रान्तिका लागि
ए विश्वका नारी एक हौँ !
—
कल्पना आचार्य पौडेल
चितवन नेपाल
हाल स्पेन