बिनायक अधिकारी
आज जनैपूर्णीमा अर्थात रक्षा बन्धन । सानैमा ब्रतवन्ध गरेपछि मामाघर जाने कत्रो उत्साह हुन्थ्यो कति रमाइला थिए ति दिनहरु हजुरबुवा हजुरआमा नाती कतिबेला आइपुग्छ भनेर पर्खाइमा हुनुहुन्थ्यो । आफुलाइ पनि कतिबेला त्यो बनपालेको उकालो सकेर चिसो धाराको पानी खाएर डिलको चौतारोमा थकाइ मारी मामाघर पुग्न हतारो हुन्थ्यो । फेदिबाट उकालो लागेछ आउने बनपालेको उकालो सॉंच्चै डरलाग्दो थियो । बेलामौकामा खच्चडको घण्टिको आवाजले मनलाइ डरबाट केहि राहत त दिन्थ्यो तर कोहि साथि भेटिएनन भने एक सासमा दगुरेर माथि डिलमा पुगौं जस्तो हुन्थ्यो । सुनसान थियो अनि बाक्लो बन । केटाकेटिमा त्यो ठॉंउ डरलाग्दै हो जे होस डराइ डराइ धेरै पटक बनपालेको उकालो काटियो । दसैं र जनैपूर्णिमा चाड संगै केटाकेटिमा पैसा जम्मा गर्ने रमाइलो पक्रिया थियो । यति पैसा बनाउन पाए यो किन्थें त्यो किन्थें भनेर आफनै किसिमले योजना बनाउन भिन्दै रमाइलो हुन्थ्यो । मामाघरबाट जनै मन्तर्नका लागी चिनो के राख्ने भन्ने हुन्थ्यो । धेरै घरका जनै एकै ठॉंउमा मन्तर्ने भएकाले आफनो जनै चिन्न गार्हो हुन्थ्यो त्यसैले चिनो अनेक अनेक हुन्थे । जनै मन्तर्ने प्रकृया चलिरहँदा हुने गफगाफ, कसकों नाती, कसकों भान्जा घर कता भनेर गरिने सोधखोज रमाइलो हुन्थ्यो । अनि आफनो घर शहर बजारमा भन्न पाउनु गर्वको कुरा हुन्थ्यो । अनि मामाहरुका समूहले केटि जिस्क्याउने रमाइलो हेर्न अर्कै मज्जा हुन्थ्यो । कुन केटिलाइ कसले जिस्क्याउने पहिल्यै तय हुन्थ्यो । अनि घर फर्कदॉं गफ गर्दै जानुहुन्थ्यो मामाहरु ।
जनैमन्तरेर मामाघर फर्केपछि जनै फेरेर धागों बॉंध्ने कार्य सुरु हुन्थ्यो । धागो बॉंध्दा भन्ने मन्तर आउछकि नाइ भन्ने हुन्थ्यो । मुख्य कुरो कतिको नोट आयो भन्ने कौतुहलता पनि हुन्थ्यो अनि हजुरआमाले सोध्नु हुन्थ्यो कति बनायौं त पैसा ? उत्तर सुनेर खुसी नभए फेरि थपिदिनुहुन्थ्यो । जे होस २०५१/५२ सालबाट धागो बॉंधेर ५०० रुपैया जति कमाउन थालियो त्यो पैसा भन्दा ठुलो खुसी केहि हुदैनथ्यो । खल्तिमा ५०० भन्दा धेरै पैसा, झोलामा आमाका लागी हजुरआमाको बिशेष कोशेली म मनमनै गदगद परेर घर फर्कन्थें ।
संगै मामाघर गएर फर्केका साथिहरुबिच कसकों धेरै पैसा भन्नेमा सानो तिनो सित युद्ध हुन्थ्यो । आफुलाइ पनि धेरै पैसा बनाउने भुत चड्थ्यो । जसको धेरै पैसा उसैको मामाघर धनि भन्ने निस्कर्ष निस्कन्थ्यो । अनि बाटोमा कसैले पाम पराग, कसैले सुर्ति किन्थे अनि खॉंदै हिड्नुको रमाइलो कसरि बर्णन गरौं खै । बिस्तारै लमजुगंबाट बिस्तापित भइयो मामाघर पहिल्यै काठमाडौ सर्यो अनि आफनो घर पनि । दनहुँ हजुरआमा र मामाहरुसंगै हुन् थालियों पैसा कमाउन थालियों बिस्तार ति दिनहरुको महत्व घट्दै गए अन्य कुराले महत्व पॉंउदै गए । तिनै बचेखुचेको थोरै महत्वमा पनि अहिले त झन अर्कै देश । न मामाघर र जनै ।
जे होस मामाघर, जनै र ति पैसाका यादहरु झलझली आइरहेछन् ।सबैजनालाइ रक्षाबन्धन जनैपूर्णिमाको शुभकामना 🙏
फोटो : गुगल