कृपेश
अग्लो सिंहाशनमा पुग्ने अनि
भुइँमा छुटेकालाई
होच्याउने रहर पालिएन
त्यसैले सँगै हिँड्दा कहिलै
तँछाड मछाडको दौडमा सामेल भइएन
डिलबाट कसैलाई घचेटिएन
कसैलाइ पछाडि तानिएन ।
उर्वर ऋतुमा
घाम, पानी, हावा मिल्दो भैदिँदा
बीउहरु जगेडा गर्ने सुद्दी बाँडे हुँला
तीनलाई उमार्ने जुक्ति फ़ुराइयो होला,
हिँड्ने क्रममै
पाइतालाका डोबहरू कतै छुटे होलान
तिनै डोब पछ्याएर कोहि कसैलाई
हिड्ने बहाना मिले होलान,
तर
डोरेटोमा
भेटिएका डोबहरू
मेरै मात्र हुन् भनेर
अड्डी कसिएन,
तीनको एक-एक हिसाब
सोध-भर्ना मागिएन,
खादा, माला र प्रमाणपत्र
भजाउने जाँगर चलाइएन,
सम्मानितहरुको लस्करमा
आफ्नो आशन खोज्दै
दङ्गा-फसाद गरिएन।
हुन्छ जे भन्नुस,
तर अँह
ठूलो मान्छे कहलिने रहरमा
केहि गरिएन !
कृपेश
१५ नोभेम्बर २०१९
Total Page Visits: - Today Page Visits: