श्रीभक्त पौडेल ‘आफन्त’
मृत्युका मात पिएको छु,
भन्दिन कि म पिउंदिन भनेर
कहिले खुशीले पिउंछु
कहिले दुखी भएर पिउंछु
कहिले छुस्स एकदुई पेग एक्लै पनि
प्राय:त म जमघट मै पिउंछु,
तर हिजोआजको कहानी बेग्लै छ
जसरी
त्रसित दुनियाँको जिन्दगी बेग्लै छ
दिनचर्या बेग्लै छन्
कोही देखाउन पिउंछन्
कोही लुकाउन पिउंछन्
तर
मेरो कहानी अझै बेग्लै छ
टेबल माथिको सिलप्याक बोत्तल हेर्दै
साँझहरु काटेको धेरै भयो
पिउने आँट नभएर होइन
जाङ्गर नभएर होइन
सोच्नु भयो होला
सितन नभएर हो कि
साकी नभएर हो कि ??
ति पनि होइनन्
किन कि मैले हिजोआज
सोमरस छाडेर भाईरस पिएको छु
तनाब पिएको छु
छटपटी पिएको छु
अनिदा सिङ्गो रात पिएको छु
मृत्युका मात पिएको छु,
मृत्युका मात?
अँ मृत्युका मात
न सितन चाहिन्छ
न साकी नै
असैह्य पिडासङ्ग चुस्की लिँदैछु
मृत्युका नशाहरु
चुलिरहेका मृत्युका शिलशिलाहरु
चर्किरहेका अहन्कारका पहाडहरु
छचल्किरहेका महामारीका सागरहरु
अनि त
कसरी रुचोस् मलाई
लेवल टांसिएका ब्रान्डेड रक्सिहरु
बिनै भेदभाव
आँखा वरिपरि नाचिरहेका छन्
मृत्युका खबरहरु
न रङ्गभेद न जातीभेद
न सिमानामा गोलाबारी
अखबार भरिएका छन्
मृत्युका खबरले
रेडियो थाकेका छैनन्
भनेर मृत्युका समाचारहरु
एस्तो लाग्छ यो नै नशा हो आज
मृत्युका नशा,
नचाहेरै पिईरहेको छु
भन्दिन म आज कि
सोसियल हुन पिएको छु ।।
हाल : पाइस भास्को स्पेन