कविता
गॉंउ-सहर
पहिले गाउँ गाउँजस्तै थियो
वन थियो जंगल थियो
आडैमा गुमुक्क घर थिए
‘चिरबिर चिरबिर’ गुन्जिरहने चरा थिए
सबैसँग थिएन तर
गाउँमा एउटा ढिकि थियो
विचमा एउटा पँधेरो थियो
छिमेकमा जाँतो थियो
नढाँटी भनुँ?
गाउँमा भाइचारा थियो।
शोक एउटाको हुन्थ्यो
तर आँखामा आँसु सबैको हुन्थ्यो
विहे एउटाको हुन्थ्यो
तर ओठमा खुशी सबैको हुन्थ्यो
चौतारो कसैको नाउँमा हुन्थ्यो
तर छहारी सबैको हुन्थ्यो
नढाँटी भनुँ?
गाउँमा आत्मियता थियो
आज गाउँ खै के भयो
सबेरै न्याउली गाइरह्यो
चराले कर्कश बोलिरह्यो
(तँ) को हो? (तँ) को हो?
खोइ को बढ्यो अनि को रोयो!
को खस्यो अनि को हाँस्यो
गाउँ गाउँ नै रह्यो वा गाउँमा सहर पस्यो?
निर्मल अधिकारी
Total Page Visits: - Today Page Visits: