आङ दावा जाङबु शेर्पा

पश्चिम अष्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्यासंगै बढ्दो क्रममा रहेको गुरुङ समाज यस वर्ष विधिवत रूपमा पश्चिम अष्ट्रेलिया सरकारको संघ-संस्था दर्ता ऐन-२०१५ अनुसार बैधानिक रूपमा दर्ता भएको छ।
आफ्नै मौलिक र विशिष्ट संस्कृति, भाषा, भेष-भूषा, रहन-सहन र पहिचान बोकेको गुरुङ समुदायले प्रथम विश्व युद्ध देखिनै विश्वमा नेपाललाई वीर गोर्खालीहरुको देशको रूपमा चिनाउन विशेष भूमिका खेल्न सफल र स्थापित एक समुदाय हो गुरुङ।
बिभिन्न पेशागत सिलसिलामा पश्चिम अष्ट्रेलियाको पर्थमा बसोवास गर्दै आएका गुरुङ समुदायले २०१४ मा किङ्ग्स पार्कमा सानो भेटघाट र ल्होसार मनाएसंगै शुरुवात भएको थियो।
गुरुङ समुदायको एउटा गहन बुझाइ र भनाई छ,
“पे म्ह्स्या छ्या म्हमु,
छ्या म्हस्या ल्हु म्हमु, ल्हु
म्ह्स्या म्हि म्हमु”
अर्थात,
“शास्त्र हराए संस्कृति हराउँछ,
संस्कृति हराए परम्परा हराउँछ,
अनि परम्परा हराए मान्छे नै हराउँछ।“

यस भनाईले गुरुङ समुदायको मात्र नभएर हरेक समुदायको आवश्यक्ता बोध गर्दछ। यही यथार्तलाई हृदयंगम गर्दै त्यस पछिका भेलाहरुमा आफ्नो मौलिक पहिचानको संरक्षण, संवर्द्धन, विकास र भावी पिंढीहरुमा पुस्तान्तरण गर्न आवश्य्कता महशुस गरी हरेक वर्ष ल्होसार (पौष १५) मनाउँदै आएको थियो। साथै गुरुङ समुदायले बहुसाँस्कृतिक अष्ट्रेलियाली समाजभित्र स्थापित बहुसाँस्कृतिक नेपाली समुदायका विभिन्न कार्यक्रमहरुमा आफ्नो उपस्थिती जनाउँदै आएको छ।
यसै क्रममा समुदायले महशुस गरेको आवश्यक्ता र जिम्मेवारीलाई मध्यनजर राख्दै गत वर्ष ल्होसारको पुनित अवसर पार्दै समाजका वरिष्ठ अभिभावक, सिगंपुर पुलिसबाट अवकास प्राप्त अग्रज श्री गम प्रसाद गुरुङको अधक्ष्यतामा तेह्र सदस्यीय गुरुङ समाज पश्चिम अष्ट्रेलिया तदर्थ समिती गठन भयो। यस तदर्थ समितीको निरन्तर प्रयास र गृहकार्यका फलस्वरूप नयाँ वर्षको शुरुवातीसंगै गुरुङ समाज पश्चिम अष्ट्रेलिया संस्थागत रूपमा स्थापना भएको छ।
यस संस्थाको उद्देश्य आफ्नो समुदायमा मात्र निहित नरही बृहत पश्चिम अष्ट्रेलियाली नेपाली समाज र अन्य समुदायहरुसंग पनि भातृत्व कायम गर्दै सहकार्य गर्ने र बहुसाँस्कृतिक पश्चिम अष्ट्रेलियाली समाजमा योगदान पुर्याउने लक्षका साथ अघि बढ्ने रहेको छ।

Total Page Visits: 1854 - Today Page Visits: 1
Shares